
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तराईका मिटरब्याज पीडितसँग छलफल गरेका छन् । प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका मन्त्री लामिछानेले पीडितसँग बुधबार बिहान छलफल गरेका हुन् ।
पीडितसँगको छलफलमा मन्त्री लामिछानेले समस्याको दीर्घकालीन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको बताए । जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन आयोगले पुनः माग्ने र घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने उनले विश्वास दिलाए ।
घटना विशेष अध्ययन गरी आयोगले निष्कर्ष दिने भएकाले केही समय धैर्य गर्न उनले आग्रह गरे । छलफलमा पीडित पक्षले साहुकारको एकलौटी दाबीका आधारमा दायर रिटअनुसार अदालतको आदेश मुताबिक आफूहरूमाथि भइरहेको धरपकड रोक्न माग गरेका थिए ।