काठमाडौं, २९ पुस — चलचित्र छक्का पञ्जाको पाइरेसी आरोप लागेका एक युवकले आत्महत्या गरेका छन् । काठठमाडौंमा बस्ने नवलपरासिका २५ वर्षीय कृष्ण सुवेदीले विहीवार साँझ आत्महत्या गरेका हुन् ।
प्रहरीको मुचुल्का पछि उनको शवलाई परिवारको जिम्मा लगाइएको छ । सुवेदीले सुसाइड नोट पनि लेखेका छन् । उनले सुसाइड नोटमा आफ्नो मृत्युमा कसैलाई पनि दोष नलगाउन अनुरोध गरेको प्रहरीले जनाएको छ ।
चलचित्र पाइरेसी बारे अनुसन्धानका क्रममा महानगरीय प्रहरीको अपराध महाशाखाले उनी सहित चार जनालाई सोधपुछ गरेको थियो ।
सुवेदीलाई चलचित्र पाइरेसीको आरोप लागेको छ । प्रहरीले सचेत मात्रै गराएर छोडेको भएपनि विहीवार साँझ फेसबुकमा चलचित्र भाइरल बनेको थियो ।