
इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हासिल गरेको छ । जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतमा राजस्थानले आफ्नै कीर्तिमान बराबरी गर्दै कोलकत्ता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको हो ।
राजस्थानले कोलकत्ताले दिएको २२४ रनको विशाल लक्ष्य अन्तिम बलमा ८ विकेट गुमाएर भेटायो । त्यसअघि २०२० मा आफूले नै किंग्स इलाभेन पञ्जाबविरुद्ध बनाएको कीर्तिमान राजस्थानले बराबरी गरेको हो ।
गएराति सम्पन्न खेलमा राजस्थानको जितमा ओपनर बटलरले ६० बलमा ९ चौका र ६ छक्का सहित १०७ रन जडे । अन्तिम ओभरमा ९ रन चाहिएकोमा बटलरले वरुण चक्रवर्तीको बलमा पहिलो बलमा छक्का प्रहार गरे । त्यसपछि लगातार तीन बलमा रन नबनेपछि पाँचौं बलमा बटलरले २ रन लिए । त्यसपछि अन्तिम बलमा १ रन लिँदै बटलरले राजस्थानलाई जित दिलाए ।
राजस्थानका लागि रियान परागले ३४ रन बनाउँदा रोभमन पावेलले २६ रन बनाए । कोलकत्ताका लागि हर्षित राना, सुनिल नरिन र वरुणले २-२ विकेट लिए भने वैभव अरोराले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले सुनिल नरिनको शतकको मद्दतमा ६ विकेट गुमाएर २२३ रन बनाएको थियो । नरिनले ५६ बलमा १३ चौका र ६ छक्का प्रहार गर्दै १०९ रन बनाए । यस्तै आंगृष रघुवंशीले ३० रन बनाउँदा रिन्कु सिंहले २० रन जोडे ।
राजस्थानका लागि आवेश खान र कुलदीप सेनले २-२ विकेट लिए भने ट्रेन्ट बोल्ट र यूजभेन्द्र चहलले १-१ विकेट लिए ।
जितपछि राजस्थान ७ खेलमा १२ अंकसहित शीर्ष स्थानमा यथावत् छ । कोलकत्ता ६ खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ ।