
ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणका खेलमा नेपालले लगातार चौथो खेलमा जीत निकालेको छ ।
अल अमरात क्रिकेट मैदानमा बुधवार भएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएसँगै ४ खेलमा शतप्रतिशत जीत निकालेको हो ।
साउदी अरेबियाले दिएको ७४ रनको लल्य नेपालले ४ बल बाँकी छँदै ७५ रन बनाएर भेट्टायो ।
नेपालको जीतमा गुल्शन झाले अविजित पारी खेल्दै सर्वाधिक ३२ तथा अविजित नै रहेका कप्तान रोहित पौडेलले १६ रन बनाए ।
गुल्शन खेलको प्लेयर अफ दी म्याच भए ।
यस्तै दीपेन्द्रसिंह ऐरीले १६, कुशल मल्ल तथा आरिफ शेखले २–२ रन जोडे ।
ओपनर कुशल भुर्तेल भने शून्य रनमा आउट भएका थिए ।
यसअघि साउदी अरेबिया निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७३ रनमै समेटिएको हो ।
यस क्रममा करण केसी र अविनाश बोहराले साउदी अरेबियाका समान २–२ विकेट लिएका थिए । करणले तेस्रो ओभरको शुरूवातमै नेपाललाई दोस्रो विकेट दिलाएका थिए ।
उनले पहिले विकेट दोस्रो बलमा लिएका थिए भने दोस्रो विकेट २.१ ओभरमा लिन सफल भए ।
यो बेला साउदी अरेबियाले २० रन बनाएको थियो । यसपछि साउदी अरेबियाका विकेट पतनको क्रम रोकिएन । ललित राजवंशी र प्रतिश जीसीले १–१ विकेट लिए ।
वर्षाका कारण नेपाल र साउदी अरेबियाबीचको खेल ८ ओभरमा छोट्याइएको छ । २० ओभरको हुनुपर्ने खेलमा १२ ओभर घटाइएको हो ।
नेपालले साउदी अरेबियाविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो ।
नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेका तीनवटै खेलमा जीत हात पारेको छ । यससँगै चौथो खेलमा पनि उस्तै नतिजा आएको छ । समूह चरण अपराजित रहेको नेपाल समूह विजेता बनेको छ ।