
मध्यपूर्वमा केही समयदेखि कायम रहेको नाम मात्रको युद्धविराम अन्तत: अनौपचारिकरूपमा भंग भएको छ । यद्यपि, युद्धविराम अन्त्य भएको औपचारिक घोषणा गरिउको छैन । तर, इरान र इजरायलबीच सिधा सैन्य मुठभेड शुरू भएको छ ।
गएराति इरानले इजरायलमाथि शृङ्खलाबद्ध मिसाइल आक्रमण गरेलगत्तै इजरायलले पनि इरानी भूभागमा ठूलो जवाफी कारबाही गरेको छ। अप्रिल महिनामा अमेरिका, इरान र इजरायलबीच हस्ताक्षर भई लागू भएको युद्धविरामलाई दुवै पक्षले बारम्बार उल्लङ्घन गर्दै आएका थिए।
पछिल्लो समय लेबनानको राजधानी बेरूतमा इजरायलले गरेको आक्रमण र देशको दक्षिणमा इरानी जहाज एवं ठेगानाहरूमा अमेरिकी हमला भएपछि आक्रोशित बनेको इरानले इजरायलमाथि ब्यालिस्टिक मिसाइल प्रहार गरेसँगै दुवै देश पुन: सैन्य कारबाहीमा उत्रिएका हुन् ।
इरानको मिसाइल प्रहारको कडा जवाफ दिँदै इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले इरानको पश्चिमी र मध्य क्षेत्रमा रहेका सैन्य ठेगानाहरूलाई निशाना बनाएको छ। आईडीएफले टेलिग्राममार्फत बैङ्किङ गर्दै आफ्ना वायुसेनाले इरानी आतङ्की शासनका सैन्य केन्द्रहरूमा सफलतापूर्वक हमला गरेको पुष्टि गरेको छ।
इजरायली हमलापछि इरानको सरकारी टेलिभिजनले राजधानी तेहरान, तबरीज र इसफहान सहरमा शक्तिशाली धमाकाहरू सुनिएको जानकारी दिएको छ। मध्य शहर कराज नजिक पनि ठूला विस्फोटका आवाजहरू गुञ्जिएका छन् । तेहरानको वारुण यन्त्रले राजधानीका पश्चिमी इलाकाहरूमा कम्तीमा दुईवटा ठूला विष्फोट भएको जनाए पनि शहरी क्षेत्रहरूलाई नै लक्षित नगरिएको दाबी गरेको छ । इसफहानका स्थानीय अधिकारीहरूले हालसम्म कुनै मानवीय हताहती नभएको बताए पनि देशका अन्य भागमा भएको क्षतिको यकिन विवरण आइसकेको छैन।
यसअघि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले इजरायलको हाइफा दक्षिण-पूर्वमा रहेको रामत डेविड एयर बेसलाई लक्षित गरी ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको थियो। आईआरजीसीले आक्रमणलाई इजरायलका लागि एउटा कडा चेतावनी मात्र भएको र यसले अबका पूरा हप्ताका लागि लगातार हुने हमलाहरूको शुरूआत गर्ने घोषणा गरेको थियो । मिसाइल आक्रमण गरेलगत्तै इरानले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै तेहरानको इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा अवस्थित सम्पूर्ण उडानहरूलाई अर्को आदेश नभएसम्मका लागि स्थगित गरेको छ। मध्यपूर्व द्वन्द्वका कारण हप्तौँ बन्द रहेर गत अप्रिलमा मात्र सञ्चालनमा आएको यो विमानस्थल फेरि बन्द हुँदा हवाई क्षेत्र अस्तव्यस्त बनेको छ।
ट्रम्पको कूटनीतिक दबाब- इजरायललाई संयमित बन्न आग्रह
तनाब बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीव्र कूटनीतिक सक्रियता देखाएका छन्। इरानी मिसाइल आक्रमणपछि विभिन्न अमेरिकी तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूसँग कुरा गर्दै ट्रम्पले इरानलाई तत्काल वार्ताको टेबलमा फर्कन आग्रह गरेका छन् । फक्स न्युजका प्रतिनिधिका अनुसार ट्रम्पले इरानले मिसाइल दागिसकेको र अब धेरै भइसकेकाले वार्ताको माध्यमबाट कुनै सम्झौतामा पुग्नुको विकल्प नरहेको स्पष्ट पारेका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूसँग फोन वार्ता गर्नुअघि ट्रम्पले अमेरिकी मिडिया 'एक्सियोस'सँग कुरा गर्दै आफूले नेतन्याहूलाई इरानको यस हमलाको जवाफ थप सैन्य कारबाहीमार्फत नदिन आग्रह गर्ने योजना बनाएको खुलासा गरे। इजरायलको 'च्यानल १२' सँगको कुराकानीमा पनि ट्रम्पले सोही कुरा दोहोर्याउँदै आफू अब थप कुनै हमला हेर्न नचाहने बताए।
ट्रम्पका अनुसार इरानको पछिल्लो हमलाबाट कसैलाई पनि क्षति पुगेको छैन र दुवै पक्षले आफ्नो काम गरिसकेका छन्। इजरायलले पहिले हमला गर्यो र इरानले पनि त्यसको जवाफ दियो, त्यसैले अब थप आक्रमणको आवश्यकता नरहेको ट्रम्पको ठम्याइ छ।
यसअघि 'फाइनान्सियल टाइम्स' सँगको कुराकानीमा ट्रम्पले प्रधानमन्त्री नेतन्याहूसँग इरानसँग सम्झौता स्वीकार गर्नुबाहेक अर्को कुनै विकल्प नभएको दाबी गरेका थिए।
इजरायलले इरानका अन्य क्षेत्र छाडेर सिधै तेहरान र इसफहान जस्ता रणनीतिक शहरहरूमा आक्रमण गर्नुको विशेष सैनिक र साङ्केतिक महत्त्व रहेको अलजजीराले जनाएको छ । राजधानी तेहरान देशको केन्द्रविन्दु हुनुका साथै यसको पश्चिमी क्षेत्रमा ठूला सैन्य ब्यारेकहरू, सैन्य सुविधाहरू र सामरिक उद्योगहरू केन्द्रित छन् । विगतको ४० दिने युद्धका क्रममा पनि तेहरान र इसफहानमा लगभग हरेक दिन बमबारी हुने गरेको थियो।
विशेष गरी इसफहान शहरमा इरानका महत्त्वपूर्ण आणविक केन्द्रहरू (न्यूक्लियर साइट्स) र ठूला सैन्य उद्योगहरू रहेका छन्। अमेरिकी गुप्तचरहरूले आणविक सामग्री लुकाएको आशङ्का गरेको एउटा केन्द्रमा पुग्नका लागि अमेरिकी सेनाले यसअघि असफल सैन्य अपरेशन समेत चलाएको चर्चा इरानी सञ्चार माध्यमहरूमा हुने गरेको छ।
ऐतिहासिक रूपमा देशको पुरानो राजधानीसमेत रहेको र आर्थिक स्वार्थको केन्द्र मानिएको इसफहानमा हमला गरेर इजरायलले इरानलाई कडा सन्देश दिएको छ। इरानले केवल उत्तरी इजरायलमा मात्र हमला गरेर कुनै भौतिक क्षति पुर्याउन नसकेको अवस्थामा पनि इजरायलले भने इरानका सबैभन्दा सुरक्षित र रणनीतिक सहरहरूमा आक्रमण गर्न हिचकिचाउँदैन भन्ने कुरा यसले प्रमाणित गरेको छ।
इजरायलमा विकसित भएको पछिल्लो असुरक्षित परिस्थितिका कारण सोमबार जेरुसेलमस्थित अमेरिकी दूतावास पूर्ण रूपमा बन्द रहने भएको छ। दूतावासले एक विशेष विज्ञप्ति जारी गर्दै अमेरिकी सरकारका सम्पूर्ण कर्मचारीहरूलाई आफू रहेको स्थानमै सुरक्षित रहन र आवश्यक परेको खण्डमा तुरुन्तै अर्को सुरक्षित आश्रयस्थलमा जानका लागि तयार रहन निर्देशन दिएको छ ।
अर्कोतर्फ इजरायली सेना (आईडीएफ) का चीफ अफ जनरल स्टाफले कमान्डरहरूसँग मिलेर सुरक्षा परिस्थितिको गम्भीर समीक्षा गरिरहेका छन्। आईडीएफका लेफ्टिनेन्ट जनरल एयाल जमिरले सरकारको आदेश मिल्नासाथ पूर्ण सङ्कल्पका साथ शत्रुमाथि जाइलाग्न सेना तयारी अवस्थामा रहेको बताएका छन्।
आईडीएफका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले हिब्रू भाषामा ब्रिफिङ गर्दै इजरायली सेनाले आफ्ना नागरिकमाथि इरानले गर्ने लगातारको आक्रमणलाई टुलुटुलु हेरेर नसहने चेतावनी दिएका छन्। उनले देशैभर एअर डिफेन्स सिस्टमहरू तैनाथ गरिएको र इजरायल थप जुनसुकै आक्रमणको सामना गर्न सक्षम रहेको बताए।
साथै आईडीएफले लेबनानमा आफ्नो सैन्य अपरेशन जारी राख्ने र इरान समर्थित हिज्बुल्लाह आतङ्ककारी सङ्गठनमाथि अझ जोडदार प्रहार गर्ने प्रवक्ता डेफ्रिनले स्पष्ट पारेका छन्। लेबनानको दक्षिणी भेगमा इजरायली हमला बढेपछि इरानको राजधानी तेहरानमा भने सरकार र हिज्बुल्लाहको समर्थनमा सर्वसाधारणहरूले प्रदर्शन गरेका छन्, जहाँ प्रदर्शनकारीहरूले इरान र हिज्बुल्लाहका झण्डाहरू बोकेका थिए।
अमेरिकाको यस कदमप्रति इरानले तीव्र आपत्ति जनाएको छ। इरानका उप-परराष्ट्र मन्त्री काजेम गरबाबादीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै क्षेत्रीय सरकारहरू इरानसँग क्षतिपूर्ति माग्ने हैसियतमा नरहेको दाबी गरेका छन्। उनले इरानी सम्पत्ति वासिङ्टनका लागि युद्धको लूटको माल वा उसका सहयोगीहरूलाई बाँड्ने कोष नभएको स्पष्ट पारेका छन्।
इरानी सरकारको सहमतिविना इरानी सम्पत्ति जफत, स्थानान्तरण वा बाँडफाँट गरिएमा त्यो अन्तर्राष्ट्रिय कानुनविपरीतको गलत काम हुने र त्यसको सम्पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्ने गरबाबादीको भनाइ छ। वासिङ्टनले एकातिर तेहरानसँग वार्ता र समझदारीको कुरा गर्ने र अर्कोतिर सम्पत्ति रोक्का गर्ने दाबी विरोधाभासपूर्ण रहेको भन्दै इरानले यसको उचित र कडा जवाफ दिने चेतावनी दिएको छ।
एसियामा इन्धनको मूल्यमा ठूलो उछाल
मध्यपूर्वी क्षेत्रमा युद्ध चर्किएसँगै विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खला प्रभावित हुने डरले सोमबार बिहानै एसियाली बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। ग्लोबल बेन्चमार्क ब्रेंट क्रुडको मूल्य २.६ प्रतिशतले बढेर प्रति ब्यारेल ९५.५० डलर (७१.६० पाउन्ड) पुगेको छ।
त्यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य पनि २.५ प्रतिशतले बढेर प्रति ब्यारेल ९२.७५ डलर पुगेको छ। गत अप्रिलमा युद्धविरामको सहमति भएदेखि नै ऊर्जा बजारमा ठूलो उतारचढाव आइरहेको छ।
व्यापारीहरूले यस युद्धले विश्वव्यापी ऊर्जा प्रवाहमा पार्ने दीर्घकालीन प्रभावको मूल्याङ्कन गरिरहँदा पछिल्लो हप्ता तेलको मूल्य ९५ डलरको वरपर घुमिरहेको छ, जसले विश्व बजारमा महँगी अझ बढ्ने सङ्केत गरेको छ।