
आठबिस नगरपालिका–५ दैलेख पिपलकोट निवासी २२ वर्षीया भीमा गुरुङको कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट शव नबुझेरै उनको परिवार आज घर फर्केको छ । भीमा विसं २०८० चैत २८ गतेका दिन सामान्य पेट दुखाइसम्बन्धी समस्या लिएर उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेकी थिइन् । प्रदेश अस्पतालका चिकित्सकले पेटमा तीन महिनाको सालनाल रहेकाले सामान्य सफाइ गर्नुपर्ने भनी भर्ना गरेको थियो । गत चैत २९ गते उनको शल्यक्रिया गर्नुपूर्व चिकित्सकको टोलीले ‘केस’ सामान्य भएकाले चिन्ता लिनु नपर्ने जनाउँदै शल्यक्रिया कक्षमा लिइएको परिवारका आफन्त कृष्णबहादुर गुरुङले जानकारी दिए ।
उनले भने, “सोही दिन अपराह्न ३ बज्न १० मिनेट अगाडिसम्म सबै ठीकै छ भनेर रगत चढाइरहेकामा एक्कासि ३ बजेतिर तपाईंको बिरामी अवस्था धेरै नै जटिल भयो भनी खबर गरिएको र त्यसको केही समयपछि मृत्यु भएको जानकारी गराइयो । शल्यक्रियाका क्रममा बिरामीको अवस्थाबारे कुनै जानकारी नगराइनु र डाक्टरको हाउभाउ हेर्दा हतास मानसिकतामा देखिनुले गम्भीर त्रुटि र लापर्वाहीका कारण गुरुङको मृत्यु भएको ठहर हुन्छ ।”
भीमको मृत्युका कारण आक्रोशित आफन्तले अस्पतालमा होहल्ला समेत गरेका थिए । सो क्रममा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्कासँग छलफल हुँदा यो केश हजारौँमा एकाध मान्छेलाई हुने निकै जटिल र गम्भीर खालको समस्या भएकाले बचाउन नसकिएको जवाफ दिएका थिए । पीडित पक्षले भने केश निकै जटिल र गम्भीर खालको थियो भने शल्यक्रिया गर्नुभन्दा अगाडि बिरामीको श्रीमान् तथा घर परिवारको मान्छेलाई कुनै जानकारी नगराइएको आरोप लगाएका छन् ।
अस्पतालको चरम लापर्वाहीका कारण आठ महिने दूधे बालिकाको बेहाल भएको भन्दै उनीहरुले गुरुङ मृत्युको नैतिक जिम्मेवारी प्रदेश अस्पताल प्रशासनले लिनुपर्ने मृतकका श्रीमान् नवराज बलामी मगरले बताए ।
आठ दिनसम्म पनि अस्पताल प्रशासनले पीडितको मागमा गाम्भीर्यता नदेखाएपछि उनीहरु आज शव नबुझेरै घर फर्केका छन् । यो घटनामा सरकार, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, महिला सञ्जाललगायत सबै सरोकारवालालाई न्याय प्राप्तिका लागि सहयोग गरिदिन पीडित पक्षले अपिल गरेका छन् ।
अस्पतालनका निर्देशक डा खड्काले घटनामा चिकित्सकको कुनै लापर्वाही नभई केस जटिल खालको भएकोले बचाउन नसकिएको बताए । सानो बच्चाको अवस्थालाई हेरेर आफूले व्यक्तिगत सहयोग गर्ने र एक जनालाई रोजगारी दिने उनको भनाइ छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले पीडितसँग बसेर उनीहरुको समस्या दुई/तीन दिनमै समाधान गरिने बताए । उनका अनुसार अस्पताल र पीडित पक्ष दुवैलाई बसालेर समस्याको शीघ्र समाधान गरिनेछ ।