
यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फायरिङ भएको थियो । उनलाई ‘तर्साउन’का लागि दुई व्यक्तिले चार राउन्ड फायरिङ गरेका थिए । सलमानलाई लामो समयदेखि पटक–पटक ज्यान लिने धम्की आइरहेको छ । फायरिङ गर्ने दुई व्यक्ति अहिले प्रहरी हिरासतमा छन् ।
यस घटनापछि सलमानको सुरक्षा उच्च बनाइएको थियो । यो घटना भएको केही दिन नबित्दै अर्का अभिनेता शाहरुखको सुरक्षा पनि उच्च पारिएको छ ।
शाहरुख व्यावसायिक क्रिकेटसँग पनि जोडिएका अभिनेता हुन् । यस क्रममा उनी इन्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो टीम कोलकाता नाइट राइडर्सको समर्थन गर्न चार दिनअघिदेखि कलकत्तामा थिए । सम्भावित खतरालाई मध्यनजर गर्दै उनी बुधवार बेलुका मात्र कडा सुरक्षाबीच बाहिर निस्किएका छन् ।
शाहरुखको फ्यान क्लबले एउटा भिडियो सामाजिक सञ्जालमा शेयर गरेको छ । जसमा उनलाई सशस्त्र गार्ड, प्रहरी र एयरपोर्ट सुरक्षाकर्मीले सुरक्षा दिइराखेका छन् । शाहरुखको गाडीलाई ती सुरक्षाकर्मीले चारैतिर घेरेर हिँडाएका छन् । यसक्रममा शाहरुखले आफ्ना समर्थकलाई अभिवादन गरेको देख्न सकिन्छ ।