
भूकम्पसम्बन्धी सम्पूर्ण जानकारी दिने प्रदर्शनी नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजबाट शुरू भएको छ ।
त्रिचन्द्र क्याम्पसको भूगर्भशास्त्र विभाग र मानविकी तथा सामाजिक शास्त्र सङ्काय, हिरोशिमा युनिभर्सिटी जापानको संयुक्त आयोजित ‘टच द इन्डो–युरोसेयिन प्लेट बाउन्ड्री’ नामक प्रदर्शनी शुरू भएको हो ।
प्रदर्शनीका संयोजक तथा विभागका सहप्राध्यापक डा दीपक चम्लागाईंले भूकम्पसम्बन्धी सम्पूर्ण जानकारी दिनु नै प्रदर्शनीको मुख्य आकर्षण रहेको बताए ।
'यो प्रदर्शनी भूकम्पसम्बन्धी अध्ययन गरिरहेका अनुसन्धानकर्ता र विद्यार्थीलाई निकै उपयुक्त छ । भूकम्प कसरी जान्छ रु यसले पार्ने प्रभावलाई हामीले स्पष्ट तरिकाले देखाउन खोजेका छौं', उनले भने ।
उनले नेपाल भूकम्पीय दृष्टिकोणले संसारकै जोखियमुक्त देश मानिने भएकाले समुदायस्तरमा नै भूकम्पसम्बन्धी जानकारी गराउने उद्देश्य प्रदर्शनीले राखेको बताए ।
'भूकम्पपछि देखिने विभिन्न दरारहरू अध्ययन गरेका छौं । त्यसको अवशेष पनि ल्याएका छौं । भूकम्पीय दरारहरू विद्यार्थी र जनमानसमा कसरी चिनाउने नै हाम्रो मुख्य लक्ष्य हो', उनले भने ।
त्यसैगरी जापानका सहप्राध्यापक डा यासुहिरो कुमहाराले यस प्रदर्शनीले भूकम्प कसरी जान्छ र त्यसपछिका अवस्थालाई ‘थ्रीडी मोडल’ नै बनाएर प्रस्तुत गर्न खोजिएको जानकारी दिए।
'हामीले अनुसन्धान गरेर दरारहरू पत्ता लगाएर त्यस विषयमा बुझाउन यो प्रदर्शनी गरेका हौं । भूकम्पीय दरारहरूकै नमूना ल्याएर देखाउन खोजेका छौं' उनले भने ।
उनले आगामी दिनमा भूकम्पसम्बन्धी सङ्ग्रहालय नै नेपालमा बनाउन सके राम्रो हुने बताए ।
बिहीवारसम्म चल्ने प्रदर्शनीमा भूकम्पसबन्धी विद्यार्थीका चित्रकला पनि समावेश रहेको छ ।