
कास्कीको पोखरा महानगरपालिका–६ फेवातालमा मंगलवार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।
अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेका काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजादिल शाह, ८ वर्षीया रजिना खातुन र करिब डेढ वर्षीया मिरा रानी फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।
दुर्घटना लगत्तै नम्बर २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा खटिएको विपद् व्यवस्थापन सहितको टोलीले उनीहरूको तत्कालै सकुशल उद्धार गरेको हो ।
दुर्घटनामा परेकाहरूको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यसअघि गत चैत २५ र २९ गते पनि फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिएको थियो ।
सो दुर्घटनामा परेका एक पुरुष र महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।