
काठमाडौं, २९ असोज — अमेरिकाको नियन्त्रणमा रहेको गुआम आजकल तनावमा छ । यसअघि संसारले यो सुन्दर टापुका बारेमा खासै जानकारी राख्दैनथियो तर उत्तर कोरियाले यहाँ आक्रमण गर्ने धम्की दिएपछि टापुमा ठूलै हलचल भएको छ ।

अमेरिकी जलसेना र ठूलो एयरबेस यहाँ भएकाले यो उत्तर कोरियाको तारो बनेको हो । उत्तरको क्षेप्यास्त्र यहाँ जम्मा १४ मिनेटमा आइपुग्छ ।
गुआमको इतिहास पहिलेदेखि नै अस्थिर छ । सन् १८९८ अघि गुआम टापुमा स्पेनको कब्जा थियो । तर अमेरिकासँग स्पेनको युद्धका क्रममा अमेरिकाले टापु हात पा–यो । त्यसपछि यो अमेरिकाको हिस्सा भयो ।
दोस्रो विश्वयुद्धताका सन् १९४१ म जापानले अमेरिकाको पर्ल हार्बरमा आक्रमण गरेपछि गुआममा पनि कब्जा जमायो ।
लगभग साढे दुई वर्ष यो जापानको कब्जामा रहँदा यहाँ जापानी सैनिकहरूले आमहत्या गरेर थुप्रै स्थानीयहरूलाई मारे ।
सन् १९४४ को जुलाई २१ तारिखमा अमेरिकी सेनाले यहाँ भारी बमवर्षा गरेर जापानी सेनालाई लखेटे र गुआममाथि फेरि नियन्त्रण लिए ।
सन् १९६० पछि अमेरिकाले गुआमलाई पर्यटकीय केन्द्रका रूपमा विकास गरेर स्थानीयहरूको आयवृद्धिको ढोका खोल्यो । यहाँ अहिले वर्षैपिच्छे हजारौं पर्यटक पुग्छन् । धेरैजसो पर्यटक जापानी, अमेरिकी र बेलायती हुन्छन् ।


एजेन्सी