
काठमाडौं, २९ असोज — आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) सिरियास्थित आफ्नो गढ रक्कामा अन्तिम सास लिइरहेको छ ।

समाचारहरूका अनुसार, अमेरिकाको नेतृत्वमा रहेको गठबन्धन सेनाले शहरलाई चारैतिरबाट घेरेको छ र छिट्टै नै शहरमाथि नियन्त्रण स्थापित गर्न लागेको छ । सिरियाली सेनाले यसै वर्षको जुन महिनादेखि नै रक्कालाई स्वतन्त्र बनाउनका लागि संघर्ष गरिरहेको छ ।
रक्का आईएसको राजधानी तथा आतंकको शासनको प्रतीकका रूपमा रहेको छ ।
सिरियन डेमोक्रेटिक फोर्सेसका प्रवक्ता तलला सिलोका अनुसार, रक्का छोड्ने सम्झौतामा हस्ताक्षर नगर्ने लडाकुसँग अब आत्मसमर्पण वा मृत्युबाहेक अन्य विकल्प छैन ।
आर्ईएसले पश्चिमी देशहरूमा आक्रमण गर्नका लागि रक्कालाई आधारभूमिका रूपमा प्रयोग गर्दै आइरहेको थियो ।
रक्काको नागरिक परिषद्का सदस्य उमर अलाउशले बताएअनुसार, यहाँबाट भाग्ने लडाकुहरूमा विदेशी पनि छन् ।
उनका अनुसार आइतवार राति यो प्रक्रिया पूरा गरिनेछ । सन् २०१४ मा आईएसले इराकको मोसुल र सिरियाको रक्कालाई आफ्नो राजधानी घोषित गरेयता उसको सबभन्दा ठूलो हार भएको छ ।
विगत केही दिनयता आईएसका दर्जनौं लडाकुहरूले रक्कामा आत्मसमर्पण गरिसकेका छन् । चौबीस घन्टामा मात्रै १०० लडाकुले रक्कामा आत्मसमर्पण गरिसकेका छन् र उनीहरूलाई शहरबाट हटाइसकिएको छ ।
एजेन्सी