०८ साउन २०८३, शुक्रबार
उपनिर्वाचनको परिणाम

‘बाबुको बिँडो’ थामेका सुहाङः फूटबलमा लगानी, इलाम २ मा विजयी

बैशाख १८, २०८१
काठमाडौं
‘बाबुको बिँडो’ थामेका सुहाङः फूटबलमा लगानी, इलाम २ मा विजयी
शनिवार भएको उपनिर्वाचनमा मतदान गर्दै सुहाङ नेम्वाङ ।

नेपाली समाजमा एउटा उखान प्रचलित छ– बाबुको बिँडो थाम्नु । यसको अर्थ हो बुवाको असली उत्तराधिकार बन्नु । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएर बाबुको बिँडो थामेका छन् । बुवा सुवासचन्द्र नेम्वाङको निधन भएपछिको रिक्त स्थानमा उनकै छोरा सुहाङले बाजी मारेका हुन् । 

शनिबार मतदान भएर मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई झण्डै ६ हजार मतान्तरले पछि पार्दै सुहाङ विजयी भए । सुहाङले २७ हजार ७७२ मत ल्याए भने दोस्रो स्थानका खड्काले २१ हजार ९४२ मत पाए । 

२०७९ को निर्वाचनमा सुवासले कांग्रेसका खड्कालाई  ११४ मतको झिनो अन्तरले पराजित गरेका थिए । अहिले छोरा सुहाङले फराकिलो मतान्तरमा जितेका छन् । खड्कालाई उनले ५ हजार ८३० मत अन्तरले जितेका हुन् । 

चुनावी आमसभाका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सुहाङ ।

स्थायी समिति सदस्यसमेत रहेकी पूर्वमन्त्री शिवमाया तुम्बाहाम्फेलगायतका सिनियर नेतालाई पछि पार्दै सुहाङ इलाम–२ मा एमालेबाट उम्मेदवार बनेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुहाङलाई इलाम २ को उम्मेदवार छान्दा परिवारवादको आरोप लागको थियो । तर अझ बढी मतान्तरमा विजयी भएर सुहाङले त्यो आरोपलाई फिका बनाउँदै लगेका छन् ।

एमालेका उपाध्यक्ष सुवासको गत भदौ २६ गते मृत्यु भएपछि यो क्षेत्र खाली थियो । यो क्षेत्रमा उनको विरासत उनकै छोरा सुहाङले थामेका छन् । यो क्षेत्रमा २०५६ सालदेखि सुवासले लगातार चुनाव जित्दै आएका छन् । सुहाङ बुवाको जीवनकालमा भने राजनीतिमा सक्रिय थिएनन् । 

काठमाडौंमा बसेर कानून व्यवसाय पेशा अंगालेका अधिवक्ता सुहाङ बुवाको निधनपछि भने जिल्लाका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुने गरेका थिए । यसअघि सुहाङ अस्ट्रेलियामा अध्यययन गरेर नेपाल फर्किएका हुन् ।

एक फूटबल खेल दौरान सुहाङ ।  

बुवा सुवास फूटबलका फ्यान थिए । विशेषगरी उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसीका समर्थक थिए । त्यसो त सुवास इलाम क्याम्पस पढ्दा त्यहाँको फूटबल टोलीको कप्तानसमेत थिए । यसर्थ बुवाको त्यो विरासत जोगाउन उनले फूटबल क्षेत्रमा समेत लगानी गरेका थिए । 

गत संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा उनले स्पोर्टिङ इलाम डे मेची क्लब किनेका थिए । स्व बुवाको फूटबलप्रतिको लगाबलाई जीवन्त बनाउन फूटबल क्लबमा लगानी गरेको उनले बताएका थिए । 

साथै सुहाङले कानून व्यवसायतर्फ पनि बुवा सुवासकै बिँडो थामेका छन् । आफ्नै बुवाको पदचाप पछ्याउँदै उनी वकिल बनेका छन् । चुनावी सभामा पनि सुहाङले बुवाकै पदचाप पछ्याउँदै कसैलाई गाली नगरी भोट माग्ने गरेका थिए । इलामका अधिकांश मतदाताले सुहाङ भोट माग्न आउँदा बाबु सुवासकै झल्को आएको बताएका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्