१५ असार २०८३, सोमबार
इलाम २ को उपनिर्वाचन

उपनिर्वाचनपछि कांग्रेस–एमाले मनोविज्ञान : जीतहारभन्दा रास्वपाको जमानत गुम्दा खुसी !

बैशाख १८, २०८१
काठमाडौं
उपनिर्वाचनपछि कांग्रेस–एमाले मनोविज्ञान : जीतहारभन्दा रास्वपाको जमानत गुम्दा खुसी !
इलामको चुनावी सभामा एमाले अध्यक्ष ओली र उम्मेदवार सुहाङ

‘नतिजा हाम्रो पक्षमा आयो । कांग्रेसले पनि सम्मानजनक मत ल्यायो । तर, रास्वपा इलाममा सोत्तर भयो,’ इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङले जितेपछि मंगलबार बिहान नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलस्थित क्यान्टिनमा नेता/कार्यकर्ताबीचको भलाकुसारी हो यो । 

इलाम २ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले ५८३० मतान्तरले जित्न पुगे । बुवा सुवास नेम्वाङले मुस्किलले ११४ मतले जितेको ठाउँमा उनकै छोरा सुहाङको झण्डै ६ हजारको हाराहारीको विजय आफैंमा गर्विलो हो । 

एमालेको सिंगो पार्टी पंक्ति यसकै चर्चामा हुनुपर्ने हो । अनि अघिल्लोपटक नेम्वाङसँग ११४ को साँघुरो मतान्तरको हारपछि यसपटक ५८३० को अन्तरको लेखाजोखामा लाग्नुपर्ने हो । 

तर, पार्टी कार्यालय, चियापसलदेखि सामाजिक सञ्जालमा एमाले जितेको भन्दा घण्टी चुनाव चिह्नका उम्मेदवारको जमानत जफत भएको विषय चर्चामा रहन पुग्यो ।

इलाममा एमाले जित्दाको खुसी र कांग्रेस हार्दाको तनावमा देखिएको छैन । 

नेताले दिने प्रतिक्रिया, सामाजिक सञ्जालका टिप्पणी र कार्यकर्तासम्मको मनस्थितिमा पनि यस्तो जीत वा हारको चिन्ता ज्यादा देखिँदैन । 

बरु २०८४ को बहुमत ल्याएर एकल सरकार बनाउने दाबी गरेको रास्वपाले इलाममा जमानत नै नजोगाएको विषय दुई ठूला पार्टीबीच चर्चामा छ । २०७९ को चुनाव र त्यसको ६ महिनापछि भएको उपनिर्वाचनमा रास्वपाप्रति ठूलो लहर देखिएको थियो । बलियो प्रभाव र संगठित शक्ति हुनुका बावजुद कांग्रेस र एमालेले अविश्वनीयरूपमा जनमत गुमाएका थिए । 

रवि लामिछानेको पार्टीले २१ सिट जितेर तहल्का मच्चाएको थियो । पुराना दलप्रतिको वितृष्णा, विग्रह र आवेगलाई सतहमा ल्याएर कांग्रेस र एमालेकै मत आफ्नो पक्षमा तान्ने सामर्थ्य देखायो । २०८४ को आफ्नो मिसनका लागि रास्वपा फेरि पनि इलाममा सत्ता राजनीतिका खेलाडी कांग्रेस र एमालेलाई चक्का दिने दाउमा थियो । 

यसैका लागि सबै तागत रास्वपाले इलाममा खन्याएको थियो । तर, रास्वपाले अपेक्षा गरे जसरी इलाममा जितेर अब हामी कांग्रेस–एमालेको विकल्प हौं भन्न त सकेन नै, ६९ हजार मतमा ६ हजार पनि कटाउन नसकेर जमानत समेत जफत भयो । एमालेले त जीत हात पार्‍यो नै, कांग्रेस पनि आफू हारेको भन्दा रास्वपाको जमानत जफत भएकोमा सन्तुष्ट देखिन्छ ।

विरासतको रूपमा सुवास नेम्वाङपछि सुहाङलाई उम्मेदवार बनाएको भनेर एमालेले आरोप नखेपेको होइन । तर, जनजाति बाहुल्य क्षेत्रमा क्षमता भएका युवालाई जिताएर एमालेले बाबु नेम्वाङले जस्तै छोराले अब दुई/तीनबाट चुनाव जित्ने गरी दाबेदारी प्रस्तुत गरेको छ ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुहाङको विजयी सभालाई सम्बोधन गर्दै अनेक प्रकारका भ्रमलाई इलामले चिरेको बताएका छन् । 

‘चुनावअघि धेरै प्रकारका भ्रमपूर्ण कुरामा अभियान चले  । तर धेरैले निर्वाचनलाई रूचिसाथ लिनभुयो, किनकि निर्वाचन स्वाभाविक विषय थियो,’ ओलीले भने, ‘एमाले छाडेर गएका हामीलाई हराउन बेस्सरी लागे । कोही–कोही पहिचान भनेर पनि लागे । हामी सबै नेपाली हौं भन्ने पहिचान इलामले दियो ।’

null

व्यक्तिगत पहिचान बनाउन खोजिए सफल नहुने उनले बताए । 

अघिल्लोपटक दुईपक्षीय प्रतिस्पर्धामा ३० हजार २० मत ल्याएको एमालेले यसपटक चार पक्षबीच मत बाँडिँदा पनि २७ हजार ७७२ मत ल्याउन सफल भयो । दुई हजार हाराहारी मात्रै मत घट्नुलाई एमालेले समस्या मानेको छैन । बरु पहिचानवादी र रास्वपाले जनजाति उम्मेदवार उठाउँदा पनि आफ्नो विरासत हल्लाउन नसकेकोमा सन्तोष मानेको छ ।

अब पुराना दलको विकर्षणमा रास्वपा हाबी हुने र ८४ को चुनाव पनि हान्ने भाष्य चिर्न सक्दा एमालेले भित्रैदेखि सन्तोष मानेको छ । 

पूर्वमा पहिचानवादीको आन्दोलन र निषेधले भूगोलमा छिर्नै एमालेलाई सकस परेको एकथरीको दाबीलाई चिर्न सक्नुलाई एमालेले यसपटक जितभन्दा पनि ठूलो उपलब्धि मानेको देखिन्छ । 

यतिमात्रै होइन, एमालेले युवा र नवीन नेता अगाडि सार्दा जस्तोसुकै परिस्थितिमा पनि जित्न सकिने सन्देश इलामबाट दिन सफल भएको छ ।

अघिल्लोपटक जित्नैलाग्दा ११४ मतले हार्नुपरेका डम्बरबहादुर खड्काका लागि इलाम उपनिर्वाचन बिर्सनलायक रह्यो । अघिल्लोपटक ३० हजार हाराहारी मत ल्याएका खड्काले यसपटक २१ हजार ९४२ मत ल्याए ।

पहिचानवादी डकेन्द्र थेगिमले साढे ११ हजार र रास्वपाका मिलन लिम्बूले ५ हजार मत ल्याउँदा कांग्रेसको लागि पनि मतको हिसाबले साह्रै दयनीय अवस्था होइन । एमालेले जस्तै पुराना दलप्रतिको विकर्षण रहेको भाष्य चिर्न सकेकोमा कांग्रेसले पनि पार्टीगत रूपमा इलामको नतिजालाई लिएर आत्तिनेजस्तो देखाएको छैन । 

नेपाली कांग्रेसका एक नेता रास्वपाले देश नै खायो भन्ने भ्रम चिरिए पनि पार्टी उत्साही हुनुपर्ने ठाउँ नभएको बताउँछन् । 

‘रास्वपाले देश खायो भन्ने भ्रमलाई इलामको उपनिर्वाचनले चिरेको छ । पहिलेको स्थिति जहाँ थियो त्यहीँ छ भन्ने देखियो । हाम्रो राम्रो नभए पनि रास्वपाको जो उभिए पनि जित्छन् भन्ने भाष्य चिरियो,’ ती नेताले भने, ‘तर अरूको नराम्रो हुँदा हाम्रो राम्रो भयो भन्न खोजेको होइन ।’

इलाममा उम्मेदवार डम्बर खड्काभन्दा महामन्त्री हावी हुँदा मत नबढेको ती नेता बताउँछन् । 

‘इलाम निर्वाचनको माहोल हेर्दा महामन्त्रीहरू चुनाव लडेकोजस्तो देखियो । डम्बरलाई लड्न दिएको भए बरू केही भोट बढ्ने थियो,’ ती नेता भन्छन्, ‘रास्वपालाई तिमीहरू दलका रूपमा तयार छैनौं भन्ने ठूलो सन्देश पनि यो निर्वाचनले दियो । हामीलाई पनि यही ढर्राले पार्टी चल्दैन, मतदातामा आकर्षण बढाउन सकिँदैन भन्ने सन्देश मिलेको छ ।’

रास्वपालाई पार्टी नमाने पनि इलाममा कांग्रेस र एमाले दुवैप्रति अगाध आकर्षण छ भन्ने नदेखिएको ती नेता बताउँछन् । 

‘अघिल्लोपटक कांग्रेसलाई माओवादीले साथ दियो, यसपटक एमालेलाई,’ ती नेता भन्छन्, ‘जीतहार जे भए पनि कांग्रेस र एमाले दुवै उत्साही हुनेगरी मत आएन । पहिचावादीको ११ र रास्वपाको ५ हजार मतले यही संकेत गर्छ ।’

रास्वपालाई झन् ठूलो सन्देश

गत चुनावमा रास्वपाका उम्मेदवारभन्दा रवि लामिछानेको ब्रान्ड र चुनाव चिह्न घण्टीमात्रै हेरेका मतदातालाई यो चुनावले अर्को सन्देश दिएको छ । त्यसअघि नामै नसुनेका उम्मेदवारले पनि रवि र घण्टी भनेपछि शहरी क्षेत्रमा सहजै मत ल्याएर जितेका थिए । तर, डेढ वर्षमै रास्वपाप्रति यो लहर र भ्रम इलामले तोडिदिएको छ । 

अघिल्लोपटक रास्वपाले मेहनत नगरिकनै घण्टी चुनाव चिह्नमा सहजै मत सोहोरेको थियो । जसले उसलाई एकाएक २१ सिटको चौथो ठूलो दलको सामर्थ्यसमेत मिल्यो । तर, इलाममा सिंगो पार्टी पंक्तिले महिनौंसम्म मेहनत गर्दा पनि इलाममा जमानत समेत जफत भयो । 

रास्वपाका सभापति रवि लामिछानेले जित्न नसके पनि इलामबाट सिक्न सकिने बताएका छन् । 

null

‘इलाम २ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङजी विजयी हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । हामीलाई मत दिनु हुने र मतसँगै ठूलो सन्देश दिनुहुने सबैप्रति आभारी छु,’ रविले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रास्वपा उमेदवार मिलन लिम्बूलगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद । जित्न सकिएन, सिक्न सकियो । त्यसैले कुनै ‘इफ, बट’को सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ ।’

राजनीतिक विश्लेषक कृष्ण पोखरेल पुराना दलप्रति विकर्षण छ भन्ने रास्वपाको भाष्यलाई कांग्रेस र एमालेले चिरेको टिप्पणी गर्छन् । 

‘पुराना दलप्रति विकर्षण छ भन्ने भाष्य यसपटक इलाममा चिरिएको छ । रास्वपाले बनाउन खोजेको यो भाष्यलाई इलाममा कांग्रेस र एमाले दुवै परम्परागत शक्तिले चिरेका छन्,’ पोखरेलले लोकान्तरसँग भने, ‘किनकि रास्वपाको महिनौंका तयारी र तामझाममा ब्रेक लागेको छ । उसकै विरुद्ध घण्टी बज्यो । आत्मनिरीक्षण गर्नुपर्ने स्थितिमा रास्वपा पुगेको छ ।’

पहिचानवादी मुद्दा मात्रै हतियार हो भन्ने सन्देश नदिए पनि पहिचान पक्षले पनि हैसियत बनाएको पोखरेल बताउँछन् । 

‘पहिचानवादी मुद्दा मात्रै हतियार हो भन्ने इलामले देखाएन । तर, ११ हजार मत बढी ल्याएर पहिचानवादीले हैसियत बनाए । थोरै तयारीमा उनीहरूले पाएको मत सम्मानजनक हो,’ पोखरेलले लोकान्तरसँग भने । 

एमाले नेता गोकुल बाँस्कोटाले त नेपालको राजनीतिमा मूल खेलाडी कांग्रेस र एमाले मात्रै भएको बताएका छन् । 

‘नेपालको राजनीतिक मैदानका मूल खेलाडी दुईटा मात्र हुन् । अरू छेउकुना भर्न मात्र मैदानमा रहेका हुन् भन्दा दुई दिनअघि मात्र एकजना सगोत्री नेता मसँग कार्यक्रमस्थलमै आगो भाथे,’ गोकुलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आखिर इलाम र बझाङले त त्यही कुरा बतायो नि ! तथ्य मनोगत आग्रहको बन्दी हुँदैन है ।’

पढ्नुहोस्, यो पनि:

२०८४ मा बहुमत ल्याउने रास्वपाको महत्त्वाकांक्षामा ठक्कर !

salt training

कमेन्ट गर्नुहोस्