
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउने उद्देश्यसहित ‘श्रमदान’ अभियानको शुरूवात गरेका हुन् ।
मन्त्री अर्यालले श्रमदान मन्त्रालयको वृहत् र व्यवहारिक योजना भएको बताए । श्रमिकको समस्या समाधान गर्न ल्याएको उक्त योजना अन्तर्गत विभिन्न सात वटा कार्यक्रम छन् ।
श्रमदान योजनामा ‘सेकेन्ड इनिङस्’, रोजगार बैंक, समता, कनेक्ट, साथ, कल सेन्टर, पेसागत यात्राको सहयात्रीलगायत कार्यक्रम समावेश छन् ।
यी कार्यक्रम एकसाथ नभएर क्रमशः कार्यान्वयन गर्दै जाने मन्त्री अर्यालले बताए । 'यो योजना मात्र होइन, अभियान पनि हो', उनले भने- 'यसले नेपाली नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको छ ।'
श्रमदानको पहिलो चरणमा सात क्षेत्रसँग सम्बन्धित कार्यक्रम समावेश गरिएका छन् ।
इन्द्रेणीका सात रङ्गसँग मेल खाने गरी प्रत्येक कार्यक्रमलाई एक विशेष रङ्गसँग जोडिएको मन्त्री अर्यालले बताए ।
कार्यक्रम नेपाली श्रमिकको सीप, दक्षतामा विकास, उनीहरुको मानसिक स्वास्थ्यसम्बन्धी समस्या समाधान, विशेष आवश्यकता रहेको वर्ग तथा समुदायको हकमा खास सुविधा प्रदान गर्नेदेखि कानूनी रुपमा सुरक्षित बनाउन श्रम कानूनको ज्ञान बढाउन केन्द्रित रहेको उनको भनाइ थियो ।
मन्त्रालयले दुई महिनाको अध्ययनपछि तयार भएको उक्त योजनाबाट रोजगारीको अवसरलाई व्यापक बनाउनेदेखि श्रम बजारमा प्रतिस्पर्धी हुन आवश्यक कौसलको विकास तथा पेसागत उन्नतिका लागि चाहिने स्रोत र साधन प्रदान गर्ने छ ।
मन्त्री अर्यालले पहिलो चरणमा २४ सै घण्टा टेलिफोन सेवा उपलब्ध गराउने, गुनासो सुन्ने निकायमा केन्द्रित फोकल पर्सन तोक्ने र मिसकललाई कल ब्याग गर्ने काम हुने जानकारी दिए । उनका अनुसार दोस्रोचरणमा श्रमदान एपको विकास गर्ने काम भइरहेको छ ।
विदेशमा आधारित सीआईपी लाइन टेलिफोन सेवा र आईभीआर सेवाको समेत तयारी भइरहेको मन्त्री अर्यालले बताए ।
विभिन्न सामाजिक सञ्जालमार्फत प्राप्त जिज्ञासा, गुनासो र समस्यालाई तत्काल समाधान प्रक्रियामा लैजान संयन्त्रको निर्माण भएको उनले बताए ।
मन्त्रालयले यसअघि नै श्रमदान कल सेन्टरको उद्घाटन गरिसकेको छ ।
मन्त्रालयका अनुसार जिज्ञासा, गुनासो र समस्यालाई निःशुल्क कल ११४१ मा फोन गरेर जानकारी दिन सकिनेछ । यस्तै अर्को फोन नम्बर ९८५१३४७२२२ मार्फतसमेत समस्याबारे जानकारी गराउन सकिने मन्त्रालयले जनाएको छ ।