
भक्तपुरको चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर आज २ जनाको मृत्यु भएको छ ।
भाडाको जग्गा टहरो हालेर बस्दै आएका रामेछापको उमाकुण्ड गाँउपालिका–४ प्रीति घर भएका २८ वर्षीय सन्देश सुनुवार र उनका काका ४६ वर्षीय दीपक सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका राजन कार्कीले जानकारी दिए ।
आफू बसेको जग्गामा इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्केर अचेत अवस्थामा रहेको जानकारी पाएलगत्तै विपद् व्यवस्थापन महाशाखा काठमाडौंबाट २५ जना, जिल्ला परिसर भक्तपुरका ३० जना प्रहरी टोली, सशस्त्र प्रहरी बलबाट नौ जनाको प्रहरी टोली र आरएनए–१६ को टोली घटनास्थल पुगेर उद्धार गरेको थियो ।
उपचारको लागि भक्तपुर अस्पताल लगे पनि उनीहरू दुवै जनाको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको उनले जानकारी दिए ।