काठमाडौं, २९ असोज— नेपाली कांग्रेस र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबीच आज हुने भनिएको पार्टी एकीकरण फेरि रोकिएको छ । केहि दिनयता पार्टी एकीकरण गर्ने भन्दै दुई पक्षबीच निरन्तर छलफल हुँदै आएको भएपनि मुर्त रुप लिन नसकेको नेताहरुले बताएका छन् ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीबीच एकता हुने भनिएपनि सांगठनिक र पदीय भागबण्डामा कुरा मिल्न नसक्दा रोकिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले एकताको फाइनलै नभई बालुवाटारमा साढे ६ बजे एकता हुने भन्दै सञ्चारमाध्यमलाई खबर गरेको थियो ।
तर फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुरमा गच्छदार ७ बजेतिरमात्रै बालुवाटारमा कांग्रेससँग अन्तिम वार्ताका लागि बालुवाटारमा पुगेका थिए । सो वार्तामा सांगठनिक र पदीय भागबण्डाका विषयमा सहमाति हुन नसकेपछि एकता रोकिएको हो ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले आजको वार्तामा धेरै कुरामा सहमति भइसकेको जानकारी दिँदै केहि सांगठनिक र प्राविधिक विषयमा सहमति जुटाएर भोलि एकीकरण गरिने दाबी गरे ।
स्रोतका अनुसार विजयकुमार गच्छदारलाई उपसभापति वा महामन्त्री मध्ये एक पद कांग्रेस सभापति शेरबहादुर देउवा राजी भएपनि सांगठनिक र पदीय भागबण्डाको विषयमा भने प्रष्ट सहमति बन्न नसकेको हो । यस्तै फोरम लोकतान्त्रिक भित्रकै पनि केहि नेताहरु एकताको विपक्षमा रहेकाले उनीहरुलाई मिलाउने प्रयास स्वरुप पनि एकता गर्न हतार नगरिएको फोरम लोकतान्त्रिक स्रोतले बताएको छ ।
गच्छदार २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचन अघि कांग्रेस छोडेर तत्कालिन मधेशी जनाधिकार फोरम प्रवेश गरेका थिए।