०९ साउन २०८३, शनिबार

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ : राष्ट्रपति पौडेल

बैशाख २१, २०८१
काठमाडौं
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२४ का अवसरमा शुभकामना दिँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताए ।          

उनले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य समेत स्मरण गरे । ‘निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह हामी सबैलाई विदितै छ । स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो,' उनले भनेका छन्, 'प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो । त्यही भएर नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको छ ।’ 

राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै अनिवार्य हुने स्पष्ट पार्दै यसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । 

उनले प्रेस स्वतन्त्रता समाजको लोकतान्त्रीकरणको अभियानको एउटा महत्त्वपूर्ण पक्ष भएको बताए । ‘प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जान्छ यसका लागि आवश्यक वातावरण निर्माण गर्नु हामी सबैको जिम्मेवारी हो भन्ने मलाई लाग्दछ । नेपाली प्रेसको यही महत्त्वपूर्ण भूमिकाका कारण हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको छ,' उनले भनेका छन्, 'सूचना सङ्कलनदेखि त्यसलाई प्रवाह गर्ने प्रक्रियासम्म निर्वाधरुपमा संलग्न हुन पाउनु नै सही अर्थमा प्रेस स्वतन्त्रता हो । बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले हरेक प्रकारका समाचारहरूमाथि सबै नागरिकको सहज पहुँच स्थापित गर्दछ र सञ्चारमाध्यमबाट सबै वर्ग–समुदायको आवाज मुखरित हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्