
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर आगलागीबाट ठूलो क्षति भएको उल्लेख गर्दै आगजनीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
सर्लाहीमा शनिबार पार्टीले गरेको कार्यक्रममा उनले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि रु ५० हजार प्रतिपरिवार राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी गराए ।
प्रधानमन्त्री प्रचण्डले आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।
सो अवसरमा प्रचण्डले मधेशका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताएका थिए ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले विभिन्न राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमतलगायत पार्टी परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई स्वागत गरेका थिए ।
यसअघि प्रधानमन्त्री प्रचण्डले सर्लाही जिल्लाको गडहिया–डुमरिया नगरपालिका बलरा–८ स्थित जनता नमुना माविको नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रचण्डलाई सयपत्रीको ठूलो माला लगाइदिएर सम्मान गरिएको थियो । त्यो कति किलोको थियो भन्ने खुल्न सकेको छैन ।