
काठमाडौं, ३० असोज — रामोजी फिल्म सिटीले बाहुबलीको माहिष्मती साम्राज्यबाहेक अन्य सेट पनि पर्यटकहरूका लागि खुला गरेको छ । पर्यटकहरूको भारी मागका कारण यस्तो निर्णय लिइएको हो ।

माहिष्मतीको सेट ५५ करोड रुपैयाँमा तयार पारिएको थियो । पाँच सय मानिसले ५० दिन लगाएर सेट तयार पारेका थिए ।
फिल्मको पहिलो भागमा माहिष्मती राजधानी बनाउनका लागि ४६ करोड रुपैयाँ खर्च गरिएको थियो । सिक्वलमा चाहिँ त्यही सेटमा केही नयाँ कुरा जोडेर फिल्मका धेरै दृश्यहरू छायांकन गरिएका थिए ।
तिहारको छुट्टी मनाउनका लागि पर्यटकहरू सेटमा घुम्न आउने भएका छन् । फिल्म सिटीका म्यानेजर पवन कुमारका अनुसार, यहाँ अहिले नै १० देखि १५ हजार पर्यटक दिनदिनै आइरहेका छन् ।
रामोजी फिल्मसिटीका उपाध्यक्ष एभी रावका अनुसार, गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको अनि करीब दुई हजार एकडमा फैलिएको यो फिल्मसिटीमा अहिलेसम्म २५ सयभन्दा बढी फिल्मको शूटिङ भइसकेको छ ।
फिल्मसिटीमा ५०० भन्दा बढी सेट लोकेसनहरू छन् । वर्षमा करीब २०० फिल्मको शूटिङ त्यहाँ हुने गरेको छ ।
यहाँ सयौं बगैंचा, ५० भन्दा बढी स्टुडियो फ्लोर, अथोराइज्ड सेट्स, डिजिटल फिल्म फ्यासिलिटी, आउटडोर लोकेसन र हाई टेक्नोलोजी ल्याब विद्यमान छ ।
फिल्मसिटीभित्रै रेलवे स्टेसन, एयरपोर्ट, मन्दिर, महल, शहर, गाउँ, जंगल, समुद्र सबैथोक छ ।


एजेन्सी