०६ असार २०८३, शनिबार

आजबाट यमपञ्चक शुरू, यो श्लोकका साथ गर्नुहोस् कागपूजा

कात्तिक २०, २०७४
आजबाट यमपञ्चक शुरू, यो श्लोकका साथ गर्नुहोस् कागपूजा

काठमाडौं, ३१ असोज — आजबाट यमपञ्चक शुरू भएको छ  । यमपञ्चकको पहिलो दिन कागतिहार मनाउने गरिन्छ । त्यस दिनमा कागलाई पूजाआजा गरी स्वादिष्ट खानेकुरा खुवाउने चलन छ ।

kaag_tihar

आफूले भात खानुअघि बिहानपख टपरीमा भात राखी त्यसमा अलिकति तिलको तेल हालेर छतमा राख्नुपर्छ । कागले भोजन गरिसकेपछि मात्र आफूले भोजन गर्नुपर्छ ।

कागलाई छुट्याइने भोजनलाई काकबलि भनिन्छ । यो श्लोक उच्चारण गर्दै काकबलि दिनुपर्छ :

ऐन्द्रवारुणवायव्यां याम्यां वै नैऋतस्तथा ।
वायसाः प्रतिगृह्णन्तु मया दत्तं बलिं त्विमम् ।।

अर्थात्, पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशा अनि यमलोकमा समेत रहेका कागदेवताहरूले मैले दिएको यो बलि ग्रहण गरून् । (प्रत्येक दिशाको देवतालाई यहाँ इंगित गरिएको छ । जस्तै, ऐन्द्र भन्नाले पूर्व दिशाका देवता इन्द्र, वारुण भन्नाले पश्चिम दिशाका देवता वरुण, वायव्य भन्नाले उत्तर दिशाका देवता वायु अनि याम्य भन्नाले दक्षिण दिशाका देवता यमराज अनि नैऋत भन्नाले यमलोकलाई इंगित गरिएको हो । अनि वायस भनेको काग हो ।)

आजैको दिन दिदीबहिनीहरूले दाजुभाइलाई भाइटीकाको निम्ता दिने गर्छन् । निम्ता दिँदा सुपारी दिने चलन छ । त्यसैगरी दूबोलाई तिलको तेलमा चोपेर कपालमा दलिदिने अनि कानमा घुसाउने चलन छ ।

दूबो अमर हुन्छ भन्ने मान्यताका कारण यो लगाइदिने चलन चलेको हो ।

यमराजको दूत 
यमपञ्चकमा कागको पूजा गर्नुमा काग यमदूत हो भन्ने मान्यता छ । काग मृत्युदेव यमराजको दूत भएका कारण उसले यमलोकमा रहेका हाम्रा पूर्वजहरूको आत्मालाई हाम्रो बारेमा बताइदिन्छ । हामी धर्म र अध्यात्म अपनाएर बसेका छौं भन्ने सन्देश कागले पितृहरूलाई पु-याएमा उनीहरू सन्तुष्ट हुन्छन् ।

कागको धार्मिक महत्व 
कागको पूजा गर्नुका पछाडि यसको धार्मिक महत्व रहेको छ । पुराणहरूमा कागले अमृतको स्वाद चाखेको हुनाले यसको स्वाभाविक र प्राकृतिक मृत्यु हुँदैन भनी उल्लेख गरिएको छ ।

कागलाई भोजन गराउनु भनेको आफ्ना पितृहरूलाई भोजन गराउनु हो भन्ने मान्यता छ । शास्त्रमा क्षमतावान आत्मा कागका रूपमा धर्तीमा विचरण गर्ने कुरा उल्लेख गरिएको छ । कागलाई भोजन गराउँदा पितृहरू तृप्त हुन्छन् । विष्णुपुराणमा भक्ति र श्रद्धाका साथ कागलाई भोजन गराउनुपर्छ भनी लेखिएको छ ।

काग अत्यन्त बुद्धिमान् चरा हो । समस्याको समाधान गर्ने र सञ्चार गर्ने अद्भुत क्षमता कागमा हुन्छ । उदाहरणका लागि, कुनै कागले दुष्ट मान्छे भेट्यो भने अन्य कागलाई कसरी त्यो मान्छे चिन्ने भनी बताइदिन्छ । अनि कागले कहिल्यै पनि मान्छेको अनुहार बिर्संदैन भनी अनुसन्धानले समेत पत्ता लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्