
संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ ।
यसैगरी सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयनको जानकारी पनि गराउने छन् । त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरूले बैठकलाई सम्बोधन गर्ने छन् ।
बर्खे अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुने छ ।
सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
तर, बैठकमा कांग्रेसले अवरोध गर्ने सम्भावना पनि छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा सदन अवरुद्ध गरेको थियो ।
कांग्रेसले लामो समयसम्म संसद् अवरोध गरेपछि सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।