०५ साउन २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

कोशीका मुख्यमन्त्रीलाई राहत–गण्डकीका मुख्यमन्त्रीलाई झट्का, कांग्रेस आक्रामक

बैशाख २९, २०८१
काठमाडौं
कोशीका मुख्यमन्त्रीलाई राहत–गण्डकीका मुख्यमन्त्रीलाई झट्का, कांग्रेस आक्रामक

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदमा आक्रामक देखिएको छ ।  शुक्रबार कांग्रेसले अवरोध कायमै राखेपछि संसद बैठक स्थगित भएको छ ।

 बिहीबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू नाराबाजीमा उत्रिएपछि बैठक स्थगित भएको हो । 

सभामुख देवराज घिमिरेले गृहमन्त्रीलाई बोल्न दिन आह्वान गर्दा कांग्रेस नाराबाजीमा उत्रिएपछि जेठ १ गते बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्नुपर्ने कांग्रेसको अडान छ । सो माग पुरा नभएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ । 
००००
संघीय संसदको दुबै सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम तय हुँदा नेपाली कांग्रेसले अवरोध कायमै राख्ने जनाएको छ । 

संघीय संसद सचिवालयले संघीय संसदको संयुक्त बैठक जेठ १ गते दिउँसो ३ बजे बस्ने गरेर समय निर्धारण गरिसकेको छ । 

तर, आफूहरुको माग सम्बोधन नभएसम्म सदन चल्न नदिने कांग्रेसको भनाइ छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले उपप्रधान तथा

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म संसद्को कामकारबाही अवरुद्ध हुने बताए ।
००००
यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ ।

 सभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्नेक्रम सकिएपछि प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएपछि अध्यक्ष नारायण दाहालले १५ मिटेनका लागि बैठक स्थगन गरेका थिए । त्यसपछिको बैठकमा पनि अवरोध भएपछ  बैठक जेठ १ सम्म स्थगित भयो । 
००००
सर्वोच्च अदालतको आदेशले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी कामचलाउ हैसियतमा पुगेका छन् । ६० सदस्यीय प्रदेशसभामा ३० मत पाएकै आधारमा सभामुखबाट बहुमत पाएको घोषणा भएपछिको विवादमा सर्वोच्चले शुक्रवार अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै मुख्यमन्त्री अधिकारी कामचलाउ हैसियतमा पुगेका हुन् । 

 न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले  कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेयले दायर गरेको रिटमा अर्को सुनुवाइ नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो ।

तर, कोशी प्रदेश सरकार गठनका सम्बन्धमा दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

शुक्रबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । कोशी र गण्डकीको विवादमा दुबै मुद्दा कांग्रेसले हालेको हो । जसमा कोशीका मुख्यमन्त्रीलाई तत्काल राहत पुगेजस्तो देखिएपनि गण्डकीका मुख्यमन्त्रीलाई भने झट्का लागेको छ।  
००००
त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आवश्यक कागजात शुक्रबार उपलब्ध गराएको छ ।
फिफा विश्व कप छनोट र एसियाली छनोटको खेल दशरंथ रंगशालामा सञ्चालन गर्ने सम्बन्धमा दशरथ रंगशालाको अवस्था बारे एएफसीले प्रारम्भिक अनुगमन पश्चात माग गरेको विवरण राखेपले एन्फालाई दिएको हो । उक्त विवरण शुक्रबारै एन्फाले एएफसीमा पठाउने तयारी गरेको छ ।
००००
कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते विहान ११ बजेका लागि वैठक आह्वान गरेका हुन्।
००००
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग रु पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी  सार्वजनिक गरेको छ ।
००००
बागमती प्रदेशसभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । 
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय र सिफारिस बमोजिम प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरेका हुन् ।
००००
रोजगार अनुमति प्रणाली  अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ जनामध्ये सिप परीक्षामा उत्तीर्ण भएका हुुन् ।
००००
नेपाल वायुसेवा निगमको ९ एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन उपसमिति गठन गरिएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्