२२ जेठ २०८३, शुक्रबार

स्लोभाकियाका प्रधानमन्त्रीलाई नजिकैबाट हानिएको थियो ५ गोली

जेठ ३, २०८१
काठमाडौं
स्लोभाकियाका प्रधानमन्त्रीलाई नजिकैबाट हानिएको थियो ५ गोली
तस्वीर स्रोत: एटिला किस्बेनेडेक/एएफपी

गोली प्रहारबाट घाइते भएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको स्वास्थ्य अवस्था स्थिर तर गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् ।

पाँच घण्टाको शल्यक्रियापछि उनलाई अहिले सघन उपचार कक्षमा राखिएको अस्पतालका निर्देशकको भनाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि बुधवार एक बन्दुकधारीले आक्रमण गरेका थिए ।

५९ वर्षीय फिकोमाथि ह्यान्डलोभामा आक्रमणमा भएको थियो । त्यसपछि उनी गम्भीर घाइते भएका थिए । उनीमाथि ती बन्दुकधारीले नजिकैबाट ५ गोली प्रहार गरेका थिए । 

घटनास्थलबाट प्रहरीले ७१ वर्षीय आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार प्रधानमन्त्रीको टाउको र छातीमा गोली लागेको देखिएको थियो । त्यसलगत्तै उनका सुरक्षाकर्मीमध्ये तीन जनाले उनको उद्धार गरी कारभित्र लगेका थिए ।

घटनालगत्तै उनलाई हेलिकप्टरमार्फत्‌ उद्धार गरी नजिकैको अस्पतालमा पुर्याइएको थियो र पछि ह्यान्डलोभा शहरदेखि पूर्वमा पर्ने बान्स्का बाइस्ट्रिकाको एफडी रुजवेल्ट युनिभर्सिटी अस्पताल सारिएको थियो । 

अस्पतालका निर्देशक मिरियम लापुनिकोभाले एक पत्रकार सम्मेलनमा उनको अवस्था ’वास्तवमै धेरै गम्भीर’ रहेको बताइन् ।

त्यसअघि उपप्रधानमन्त्री टोमस ताराबाले प्रतिक्रिया दिँदै भनेका थिए, ’फिकोको शल्यक्रिया सफल भएको छ । मलाई लाग्छ उहाँ बाँच्नुहुनेछ ।’

स्लोभाकियाका गृहमन्त्री माटुस सुताज इस्टोकाले प्रधानमन्त्रीमाथिको आक्रमणलाई राजनीतिक रुपमा प्रेरित हत्याको प्रयास भनी टिप्पणी गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्