
कांग्रेस सांसदहरूले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्न खोजेको आरोप एमालेका नेताहरूले लगाएका छन् । कांग्रेसले संसदभित्र असभ्य व्यवहार दर्साएको उनीहरूले आरोप लगाए ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि संसद्मा मुठभेडको स्थिति सिर्जना भएको थियो । गृहमन्त्री रोष्ट्रमतर्फ जान लागेपछि ओली उठेका थिए । त्यसपछि कांग्रेस उपसभापति धनराज गुरुङ ओलीसँग झोक्किएका थिए ।
बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैलाले कांग्रेसले संसद्मा अराजकता मच्चाउन खोजेको आरोप लगाए ।
एमाले सांसद रघुजी पन्तले कांग्रेस सांसदले ओलीमाथि आक्रमण प्रयास गरेको आरोप लगाए । ‘मन्त्री भइसकेका कांग्रेसका सांसदले झम्टिन खोजे । अध्यक्ष ओलीले आफ्नो ठाउँमा उभिएर गृहमन्त्री बोल्न पाउनुपर्छ भन्दा प्रतिपक्षका सांसदले आक्रमण प्रयास गरे,’ पन्तले भने ।
सभामुखले गृहमन्त्रीलाई बोल्न दिएपछि सत्तापक्षका सांसदसमेत उठेपछि संसद्मा अप्रिय स्थिति सिर्जना भएको थियो । त्यसक्रममा सत्ता र प्रतिपक्षका सांसदबीच हात हालाहालको स्थिति बनेको थियो ।