
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रुपमा कार्यरत डाक्टर स्मृति शाक्य पेशाले चिकित्सक हुन् ।
लामो समयदेखि यो क्षेत्रमा सक्रिय मुटुरोग विशेषज्ञ डा स्मृतिले अहिलेसम्म हजारौं दिल अर्थात् हृदय रोगीहरूको सफल उपचार गरिसकेकी छिन् ।
चिकित्सक पेशामा अब्बल डाक्टर स्मृतिले पछिल्लो समय गायिकाको पनि परिचय थपेकी छिन् । उनीले स्वरबद्ध गरेको गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
सुमधुर आवाजकी धनी शाक्यले पछिल्लो समय ‘मैले माया लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन’ बोलको मर्मस्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

आफ्नै युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा पूर्वप्रदेशमन्त्री डाक्टर अजयक्रान्ति शाक्यको शब्द तथा संगीत रहेको छ । डा अजयक्रान्तिले एकल सङ्गीतका चार वटा एल्बम बजारमा ल्याइसकेका छन् ।
स्मृतिले गाएको गीतको म्युजिक भिडियोलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन् । म्युजिक भिडियोका सबै दृष्य काठमाडौं र ललितपुरमा छायाङ्कन गरिएको छ ।
म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको मोडलिङ रहेको छ । म्युजिक भिडियोमा चिकित्सक शाक्य स्वयंको पनि अभिनय देख्न सकिन्छ ।
पछिल्लो समय चिकित्सकीय पेशासँगै गायनको क्षेत्रमा पनि रुचि राख्दै आएकी शाक्यले यस अघि अरुणा लामा र रुद्रमणिको गायन तथा अम्बर गुरुङको संगीत रहेको गीत ‘ए–कान्छा मलाई सुनको तारा खसाइ देउन’ बोलको गीत हरिशरण सायमीसँग ‘कभर सङ’ गाएकी थिइन् ।
पूर्वमन्त्री शाक्यकै शब्द तथा संगीत रहेको ‘केही मीठा कुरा गरौंन, दुई कदम सँगै हिंडौंन, जिन्दगीको के भरोसा, माया माया तिमी नै माया’ बोलको गीतमा चिकित्सक शाक्यकै स्वर रहेको छ ।
यो गीत पनि छायाङ्कनको क्रममा रहेको छ ।