
नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (२)ले आज यहाँ आयोजना गरेको ‘दोस्रो प्रदेश क्षेत्रीय सम्मेलन तथा प्रोफाइल लोकार्पण’ कार्यक्रममा उनले अस्थिरताको बीचमा फसेको देशलाई बाहिर निकाल्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । पार्टीभित्र देखिएका मतान्तर आक्रोश समस्यालाई थाँती राखेर मुलुकलाई अगाडि बढाउन कांग्रेस अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
त्यसैगरी उनले हाल देशमा देखिएका समस्या समाधानमा सत्तापक्ष जिम्मेवार हुनुपर्नेसमेत बताए । “मुलुक राजनीतिक दलबीचको द्वन्द्व, संसद्को अवरोध, अस्थिरताको कुचक्रमा फस्दा जनतामा नकारात्मक सन्देश गएको छ, यसलाई चिर्न सरकारपक्ष जिम्मेवार बन्नुपर्छ”, उनले भने ।
नेता लेखकले लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले पार्टीभित्रको आलोचनालाई विशेष स्थान दिएर अगाडि बढेको बताए ।