
सहकारी ठगी प्रकरणलाई लिएर सिर्जना भएको संसदको गतिरोध अन्त्य गर्न सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल सहमत भएका छन् ।
सत्तारुढ एमाले, माओवादी केन्द्र र रास्वपासँगै प्रतिपक्षी कांग्रेसलगायत दलहरू संसदीय छानबिन समिति गठनका लागि सहमत भएका हुन् ।
तर, समितिको कार्यादेश (टीओआर) के हुने भन्नेबारे टुंगो लाग्न बाँकी छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले छानबिन समितिको कार्यादेश आज बिहान छलफलपछि टुङ्गो लगाइने जानकारी दिए ।
‘सदनमा भइरहेको गतिरोध अन्त्यका लागि छानबिन समिति बनाएर जानुपर्छ भन्नेमा सकारात्मक छलफल भयो । सँगसँगै समितिको कार्यादेश के हुने भन्ने विषयमा पनि काम गर्ने कुरा भएको छ । समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक दलहरूबीच समान धारणा बनेको छ । आजका लागि यसलाई उपलब्धिमूलक र सकारात्मक नै मान्नुपर्छ,’ शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि उनले भने ।
छानबिन समितिको कार्यादेश निर्माणका लागि कानूनमन्त्री पदम गिरीले सहजीकरण गर्ने र सबै दलका नेताहरू बसेर त्यसलाई मूर्तरुप दिइने पनि उनले बताए । छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र आजको संसद् बैठक सहजरुपमा अघि बढ्ने विश्वास लिइएको उनको भनाइ छ ।
छानबिन समिति गठन गर्ने विषयमा शनिबार चरणवद्धरुपमा छलफल भएको थियो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ ।