
सहकारी ठगीको छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश (टीओआर)को टुंगो लगाउन कार्यदलको बैठक बसेको छ ।
कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकले टीओआमा सहमतिका लागि प्रयास गर्नेछ ।
शनिबार दिउँसो ३ बजेका लागि करिब डेढ घण्टापछि शुरू भएको छ । आजै निष्कर्षमा पुग्ने नेताहरूले दाबी गरेका छन् ।
बैठकमा कानूनमन्त्रीसमेत रहेका कार्यदलका संयोजक पदम गिरी, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका नेताहरू जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की, रास्वपाका नेता शिशिर खनाललगायत सहभागी छन् ।
शनिबार गृहजिल्ला पर्वत पुगेका कानून न्याय तथा संसदीय मामिलामन्त्री गिरीले आइतबारको संसद् बैठक अघि नै सहमति हुने बताएका थिए ।
साथै संसद्का कामकारबाही विनाअवरोध सञ्चालन हुने उनको भनाइ थियो ।
सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने अडानमा नेपाली कांग्रेस लचक बनेको छ ।
शुक्रबारको बैठकपछि साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद् खुलाउनेबारे शीर्ष नेताहरूबीच छलफल भएको थियो।
बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको बताएका थिए ।
साथै कार्यादेशको भाषाबारे शीर्ष नेताहरू बसेर सहमति गर्ने उनले जानकारी दिएका थिए ।