
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बा २ क ८६५१ नम्बरको स्काभेटर चालक बर्दिया गेडुवा गाउँपालिका–४ स्थायी घर भएका अन्दाजी ३८ वर्षीय मङ्गल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक विस्तारका लागि भित्तो काट्ने काम गरिरहेका बेला माथिबाट पहिरो खसेको थियो ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहान पुल निर्माण गर्न भित्तो काट्ने क्रममा माथिबाट पहिरो खस्दा स्काभेटरसहित चौधरी पुरिएका थिए ।
चालकको उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकामा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
‘पहिरोमा परी स्काभेटर पूर्णरुपमा क्षति भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमा समेत क्षति पुगेको छ’, प्रनाउ रिजालले भने ।
अहिले सवारी आवागमन नरोकिएको र पहिरो पन्छाउने कार्य जारी रहेको उनले जानकारी दिए ।