
तनहुँको व्यास नगरपालिका–३ स्थित फलफूल लाइनमा भएको आगलागी पीडितलाई उचित राहत प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को ध्यानाकर्षण गराइएको छ ।
राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेकी प्रमुख सचेतक भगवती न्यौपानेले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर पीडितलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न ध्यानाकर्षण गराएकी हुन् ।
त्यसक्रममा प्रधानमन्त्री दाहालले पीडितलाई राहत दिने विषयमा सरकार गम्भीर रहेको आश्वासन दिएका न्यौपानेले जानकारी दिइन् । उनले भनिन्, 'आगलागीका कारण २१ जनाको रोजीरोटी गुमेको छ, व्यापार व्यवसाय बन्द भएको छ । सरकारका तर्फबाट के गर्न सकिन्छ त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छु । उहाँबाट सकारात्मक जवाफ आएको छ ।'
न्यौपानेले शनिबारमात्रै दमौलीमा पीडितसँग भेटेर सरकारसमक्ष कुरा पुर्याउने प्रतिबद्धता जनाएकी थिइन् ।
गत सोमबार बिहान १२ः४५ बजे आगलागी हुँदा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका यहाँका २१ व्यवसायिक सटर पूर्णरूपमा जलेका थिए ।
यहाँ आइसिक्रम पसल, सैलुन, फलफूल, मदिरा, मोबाइल, पुस्तक पसल, दूध डेरीलगायत सञ्चालनमा थिए ।
त्यसक्रममा रु छ करोड ९९ लाख ५१ हजार छ सय ७० को क्षति भएको व्यास नगरपालिकाले गठन गरेको समितिले जनाएको छ ।
आगलागीका क्रममा थोरै रु तीन लाख दश हजारदेखि रु एक करोड १५ लाखसम्मको क्षति भएको छ ।
सबैभन्दा बढी इमेज मोबाइलको रु एक करोड १५ लाख र रक्सी बिक्रेताको रु एक करोड १५ लाख क्षति भएको नगरपालिकाले गठन गरेको समितिका संयोजक एवं वडाध्यक्ष अनुप रानाले जानकारी दिए ।