
पार्टीमा पदाधिकारी र पूर्व पदाधिकारीको छलफलपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।
सहकारीमा भएको आर्थिक अपचलनको छानबिन गर्न संसदीय समिति गठनको सकस भइरहेका बेला आन्तरिक छलफल गरेपछि कांग्रेसका शीर्ष नेताहरू बालुवाटार लागेका हुन् ।
आन्तरिक छलफलपछि उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, रमेश लेखक र ज्ञानेन्द्र कार्की प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार लागेका हुन् ।
कांग्रेसले सहकारी प्रकरणमा यस अघिदेखि उठाउँदै आएका गृहमन्त्री रवि लामिछाने केन्द्रित छानबिन समिति गठनलाई अझै पनि बटमलाइन बनाएको छ । आफूहरू नरम हुँदै रवि लामिछाने जोडिएको गोर्खा मिडिया, यसमा संलग्न पदाधिकारी केन्द्रित छानबिन समिति गठनमा तयार हुने संकेत कांग्रेसले दिएको थियो । रविको नाम उल्लेख नगरे उनी जोडिएको संस्था, यसका पदाधिकारी र संलग्नमाथि छानबिन गर्नुपर्नेमा कांग्रेस प्रष्ट रहेको नेताहरू बताउँछन् ।
सोमवार बिहान पनि कांग्रेसका नेताहरूले प्रधानमन्त्रीसँग छलफल गरेका थिए । तर मध्यमार्गी प्रस्ताव गरे पनि सत्ता पक्षले पेल्ने नीति लिएकाले पुरानै अडान राख्ने गरी अगाडि बढ्ने तयारीमा कांग्रेस पुगेको नेताहरू बताउँछन् ।
सहमहामन्त्री जीवन परियारले आफूहरूले लचकता देखाए पनि सत्तापक्षले कुनै मिल्ने प्रस्ताव नै नल्याएको बताए ।