
नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
गत शुक्रबार राति उच्च रक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उनलाई जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सिफारिस गरेपछि उनलाई काठमाडौं ल्याइएको हो ।
सोमबार तेस्रोपटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित हुन सिरोहिया अस्पतालबाट एम्बुलेन्समा गएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेले चिकित्सकसँगको परामर्शपछि उनलाई काठमाडौं लगेर उपचार गर्न सिफारिस गरेका थिए । यसपछि सरकारी वकिलसँगको परामर्शमा सिरोहियालाई काठमाडौं पठाउने निर्णय भएको हो ।