
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीबारे छानबिनका लागि गठन गरिएको संसदीय समितिमा रवि लामिछानेको नाम उल्लेख नगरेपछि सिम्बोल नम्बर राखिएको टिप्पणी गरेका छन् । समिति गठनको समयमा उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई दुःखी र खुसी नदेखेको उनले टिप्पणी गरे ।
मंगलवार प्रतिनिधिसभाबाट संसदीय छानबिन समिति गठन भएपछि संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री शर्माले रविको सिम्बोल नम्बर र ठेगाना लेखिएको बताएका हुन् । ‘नाम नभएर के भयो र सिम्बोल नम्बर लेखिएको छ । पाँच ‘स’ भनेर सहकारीको नाम लेखिएको छ । ठेगाना लेखिएको छ– गोरखा मिडिया नेटवर्क भनेर,’ उनले भने । परीक्षामा नामको सट्टा सिम्बोल नम्बर लेखिने उदाहरण पेश गर्दै शर्माले छानबिन समितिको दायरमा रवि आउनु पर्नेमा जोड दिए ।
महामन्त्री शर्माले आफूहरूले तीन महिनादेखि संसदीय छानबिन समिति माग गरेको स्मरण गर्दै अब पीडितका लागि काम गर्ने विश्वास व्यक्त गरे । ‘समितिले पूर्वाग्रहमुक्त भएर काम गर्नेछ भन्ने विश्वास गरौं । सहकारी ठगीसँगै गिरीबन्धुलाई जोगाउन लाग्ने छैन भन्ने अपेक्षा गरौं ।’
मंगलवार बसेको प्रतिनिधिसभा बैठकले एमाले सांसद सूर्य थापाको संयोजकत्वमा ७ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको थियो । रवि लामिछाने जोडिएको गोरखा मिडिया नेटवर्कमा गएको पैसाबारे छानबिनको कार्यादेश पाएको समितिलाई तीन महिनाको समय दिइएको छ ।