
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् ।
उनले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औंल्याए ।
एकहत्तरौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले सरकारको ‘हिमाल जोगाऔं, मानवता बचाऔं’ अभियानलाई सघाउन आग्रह गरेका हुन् ।
विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथालगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएको उनले बताए ।
प्रधानमन्त्रीले जलवायु परिवर्तनका असरलाई घटाउने तथा हिमालका फोहोर व्यवस्थापनलगायत चुनौती थपिएका बताए ।
'हिमाललाई प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयको आवश्यकता छ । यसका लागि सरकारले ‘हिमाल जोगाऔं, मानवता बचाऔं’ नाराका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गर्ने नीति लिएको छ,' प्रधानमन्त्रीले भने, 'सरकारको यो नीतिगत प्राथमिकता र पहलमा सरोकारवालालगायत सम्पूर्ण नेपालीको बलियो साथ रहने मेरो विश्वास छ ।'
उनले पछिल्लो समय विश्वव्यापी रूपमा देखा परेका वातावरणीय सङ्कट खासगरी जलवायु परिवर्तन, तापमान वृद्धिका कारण उत्पन्न चुनौती गम्भीर भएको उल्लेख गरे ।