०७ असार २०८३, आइतबार

दिल्लीमा ५२.३ डिग्री सेल्सियसको उच्च तापक्रम

जेठ १६, २०८१
काठमाडौं
दिल्लीमा ५२.३ डिग्री सेल्सियसको उच्च तापक्रम

नयाँ दिल्ली–प्रचण्ड गर्मीको चपेटामा परेको दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ । यो राष्ट्रिय राजधानीमा सबैभन्दा उच्च तापक्रम हो ।    

क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवका अनुसार स्वचालित मौसम केन्द्रमा बुधबार यस मौसमको उच्चतम तापक्रम उत्तर पश्चिमी दिल्लीको मुङ्गेशपुर क्षेत्रमा ५२ दशमलव तीन डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । यसअघि मे २६ अर्थात आइतबार मुङ्गेशपुरको तापक्रम ४८ दशमलव तीन डिग्री सेल्सियस थियो । 

भारत मौसम विज्ञान विभाग (आईएमडी)ले बुधवार र बिहीबार दिल्लीलगायत देशको उत्तरी भागका धेरै राज्यमा गर्मीको लहर (लू)को चेतावनी जारी गरेको छ ।

आईएमडीका अनुसार पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थानका धेरै भाग, उत्तर प्रदेश, पूर्वी मध्यप्रदेश, पश्चिम मध्यप्रदेशका केही भाग, बिहार, झारखण्ड, उडिसा र जम्मु डिभिजनका फरक फरक भागमा गर्मीको लहरदेखि गम्भीर गर्मीको लहर अवस्थाको सम्भावना छ । बुधबार र बिहीबार हिमाचल प्रदेश, विदर्भ र छत्तीसगढका विभिन्न भागमा लू चल्ने सम्भावना छ । 

दिल्लीको इन्टरभेन्शनल कार्डियोलोजी फोर्टिस एस्कर्ट्स हार्ट इन्स्टिच्युटका कार्यकारी निर्देशक डा अतुल माथुरले हृदय प्रणालीको समस्याबारे चेतावनी दिँदै नयाँदिल्लीमा आईएमडीको लूको चेतावनीबीच शरीरलाई ‘हाइड्रेटेड’ राख्न सुझाव दिए ।

‘हाम्रो देशले आक्रामक तापक्रमको सामना गरिरहेको छ । यसका कारण सामान्य व्यक्तिलाई पनि हृदयाघातको समस्या हुनसक्छ । यदि तपाईंले पानी पिउनुभएको छैन भने तपाईं निर्जलित हुनुहुनेछ । पहिलेदेखि नै मुटुको समस्या भएकाहरूको रक्तचाप बढ्छ । मुख्य चिन्ता निर्जलीकरण हो । चर्को गर्मीमा ज्येष्ठ नागरिकहरूले बाहिर निस्कनु हुँदैन । आफूलाई हाइड्रेटेड राख्नका लागि नियमितरूपमा पानी पिउनुपर्छ,’ उनले भने ।

साथै आईएमडीले दिल्ली र एनसीआर, खर्खोडा, झज्जर, सोहाना, पलवल, नुह, औरङ्गाबाद, होडलका पृथक ठाउँमा र छेउछाउका क्षेत्रहरूमा २० देखि ३० किलोमिटर प्रतिघन्टाको गतिमा हल्का तीव्रताको वर्षा र हावा चल्ने अनुमान गरेको छ । 
        
यसअघि मङ्गलबार राजस्थानको चुरु राज्यमा ५० दशमलव पाँच डिग्री सेल्सियसको रेकर्ड–उच्च तापक्रम रेकर्ड गरिएको थियो । यो सामान्यभन्दा सात दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी हो । 
 

कमेन्ट गर्नुहोस्