
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोलाएर छानबिन गर्ने र उनको खाता पल्टाउनुपर्ने बताएका छन् ।
सहकारीमा नागरिकले बचत गरेको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति बनेपछि अब ज–जसले अपचलन गरेको भए भए पनि बोलाएर छानबिन गर्नुपर्छ ।
‘सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नता रहेको छ भनिरहेका छौं । तथ्य प्रमाण देखिएकै छ । यसको आधारमा अनुसन्धान हुने कुरालाई निश्चित गरौं । यसका आधारमा अनुसन्धान निश्चित गर्न संसदीय समिति बढी आवश्यक हो,’ समितिले काम गर्ने विषयमा भिडियो सन्देश जारी गर्दै थापाले भनेका छन्, ‘गोर्खा भन्ने कम्पनी छ । योसँग जोडिएका अरु कम्पनी छन् । गोर्खा मिडियामा सूर्यदर्शनसहित सहकारीबाट रकम प्रवाह भएको छ कि छैन भनेर हेर्छ । रकम गएको छ । गैरकानूनी भएर हेर्छ ।’
गैरकानूनी रुपमा एक रुपैयाँ पनि लान नपाइने भन्दै थापाले नियमविपरीत लगेको भए नाम किटान गर्ने कारबाही सिफारिस गर्ने काम समितिले गर्ने बताए ।
‘गैरकानूनी रुपमा सहकारीको एक रुपैयाँ लान पाइँदैन । रकम उडेर गएको होइन । गैरकानूनी काम कोही न कोही व्यक्तिले गरेको छ,’ उनले भने, ‘यसको अनुसन्धान गर्ने, गैरकानूनी काम गर्नेको नाम किटान गर्ने र कारबाही सिफारिस गर्ने काम समितिले गर्छ ।’
समितिले यसरी छानबिन गर्दा जीबी राई, रवि लामिछाने जो सुकै भएपनि छानबिन हुनुपर्ने उनी बताउँछन् ।
‘गोर्खा मिडिया कसको जिबी राई र रवि लामिछानेको हो । जीबी राई रवि लामिछानेलाई बोलाएर छानिबन गर्नुपर्यो । बोलाउने, सोध्ने, खाता पल्टाउने, खाता सहकारी, कम्पनीको पल्टाउनुपर्छ,’ थापाले भने, ‘पैसा कहिले आएको हो ? कहाँ आएको हो ? पैसा खर्च गर्न पाइने हो कि होइन ? कुन बचतकर्ता पैसा हो ? गैरकानूनी हो भने अब के गर्ने हो ? सुप्रिम, स्वर्णलक्ष्मी, सूर्यदर्शन, सानो पाइलाको बचक कसरी फिर्ता गराउने हो ? यो सबै समितिले अनुसन्धान गर्छ ।’
नामतिरै लाग्दा समिति बनाउन नदिनेतिर गएको भन्दै अब यसले निर्वाध रुपमा काम गर्नुपर्ने थापाले बताए ।
‘नाममा क्या रखा है ? भन्या जस्तै नामतिर लागेर समिति बनाउन नदिने धन्दातिर लाग्ने कुरा ठीक होइन । समितिले अध्ययन अनुसन्धान गर्ला हामीले भने जस्तो नभए होइन रहेछ भने जे हो त्यही कुरा अगाडि आउँछ । जसले न्याय पाउनुपर्ने हो न्याय पाउनुपर्छ,’ थापाले भने, ‘समिति बनेको छ । केही दिनबाट काम प्रारमभ हुन्छ । अब निर्वाध रुपले काम गर्न दिनुपर्छ ।’
प्रधानमन्त्री वा गृहमन्त्री नै संलग्न भए पनि समितिले छानबिन गर्ने कार्यादेश पाएको महामन्त्री थापाले बताए ।
‘समितिका प्रत्येक सदस्यले कार्यादेश के हो भन्ने बुझ्नुभएको छ । यसमा बस्नुभएका धेरै जसो साथीहरू त्यो प्रधानमन्त्रीको कोठामा भएको छलफलमा सहभागी हुनहुन्थ्यो,’ उनले भने, ‘प्रधानमन्त्रीले पटकपटक कार्यादेश टुंग्याउने बेलामा सोअनुसार गोर्खा मिडियाको छानबिन गर्दै गर्दा गोर्खा मिडियामा प्रधानमन्त्री भए पनि बयानमा बोलाउने, गृहमन्त्री भएपनि बयानमा बोलाउने हो भन्नुभएको छ ।’
यसैले कसैले कार्यादेशको अपव्याख्या गर्न नहुने थापा बताउँछन् ।
‘यसमा अलमल भाषामा गएर कपटपूर्ण ढंगबाट भाषाको व्याख्या गर्ने कुरा कसैले गर्न पाउँदैन भन्ने सुन्ने सहभागी भएका साथीहरू नै समितिमा हुनुहुन्छ,’ उनले भने ।
समिलिते इमान्दारीपूर्वक काम गर्दा दूधको दूध पानीको पानी हुने थापा बताउँछन् । ‘अब कुनै अलमल नराखौं । समितिले जे जिम्मा पाएको छ इमान्दारीपूर्वक काम अगाडि बढाउँछ,’ थापाले भने, ‘तोकिएको तीन महिनाभित्र दूधको दूध पानीको पानी छुट्याउँछ । भन्ने कुराको विश्वास र अपेक्षा राखौं । समिति बन्नैपर्ने थियो । हामीले चाहेका विषय अनुसन्धान हुने गरी समिति बनेको छ । यसले आफ्नो काम पूरा गर्छ ।’
कांग्रेसको निरन्तरको मागपछि जेठ १५ गते ७ सदस्यीय सहकारीमा भएको रकम अपचलनको बारेमा छानबिन गर्न ७ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो । यसको संयोजक नेकपा (एमाले)का सूर्य थापा छन् ।