
नेपालको लोकप्रिय रम ब्रान्ड खुकुरीले रम प्रब्रद्धनार्थ कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसडर’ इयान बरेलसँग पहिलोपटक सहकार्य गरेको छ । बेलायती मूलका बरेल विश्व रम उद्योगमा विशेषज्ञता हासिल गरेका व्यक्ति हुन् । विश्वभर रमसम्बन्धी विभिन्न कार्यक्रममा सक्रिय उनले तीन दशकभन्दा लामो अनुभव संगालेका छन् । उनी विश्वभर रमसम्बन्धी विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउने सर्वसम्मानित ‘इडू टेइनर’ हुन् ।
‘आउँदो ३ र ४ जुनमा आयोजना हुने यो कार्यक्रमले ग्लोबल रम एम्बेसडरमार्फत नेपाली रम उद्योगकै सर्वप्रिय रोजाइ खुकरी रम र यसको विशुद्ध नेपाली स्वाद प्रस्तुत गर्दै विश्वसामु नेपाली उत्पादन र शिल्प प्रवर्द्धन गर्नेछ,’ खुकुरी रमको उत्पादक द नेपाल डिस्टिलरिज प्रालिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बरेलले आफ्नो मिक्सोलोजी, रम उत्पादन, रम उद्योगका पछिल्ला प्रवृत्तिहरूमा आफ्नो अनुभवबाट ज्ञानबर्द्धक कुरा मास्टरक्लासमार्फत प्रस्तुत गर्नेछन् । साथै प्रशिक्षात्मक कार्यक्रममा सहभागी हुनेहरूले रम टेस्टिङ (चखाइ), नेटवर्किङ आदिको अनुभव पनि लिन सक्नेछन् । यो कार्यक्रम, नेपाली रम पारखी तथा विशेषतः बारटेन्डरहरूलाई अन्तर्राष्ट्रिय उद्योगको बारेमा जानकारी लिने, सीप अभिवृद्धि गर्ने र नेटवर्क बनाउने सही अवसर रहेको प्रालिको भनाइ छ ।
‘हामी नेपालमै यस किसिमको पहिलो कार्यक्रमको लागि ग्लोबल रम एम्बेसडर इयान बरेलसँग सहकार्य गर्न पाउँदा खुसी छौँ । यस कार्यक्रमको माध्यमबाट अनुभवी विश्वव्यापी व्यक्तित्वको उपस्थितिमा नेपाली रम पारखीहरूको ज्ञानको दायरालाई अझ फराकिलो बनाउने मौका प्रदान गर्नेछौँ,’ प्रालिका महाप्रबन्धक सुभाष लामिछानेले भन्छन्, ‘साथै यस किसिमको कार्यक्रमबाट नेपाली बारटेन्डर तथा रम पारखीहरूको सीपमा विश्वस्तरको निपुणता हासिल गर्न, ज्ञानलाई परिष्कृत गर्न र विश्वव्यापी रम समुदायमा फराकिलो व्यक्तिगत र व्यावसायिक नेटवर्क विस्तार गर्न सहयोग पुग्छ । हामी यसबाट अन्ततः पूरा नेपाली रम संस्कृतिको स्तरोन्नति गर्न चाहन्छौँ ।’