
अमेरिकाको आगामी राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीका उम्मेदवार एवं पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प वयस्क चलचित्र स्टार स्ट्रेमी ड्यानियल्स सँगको सम्बन्ध चुपचाप राख्न गोप्य रूपमा पैसा (हस् मनि) दिएको मुद्दामा दोषी ठहर भएका छन् । न्यूयोर्कको एक अदालतले ट्रम्पलाई दोषी ठहर गरेको हो । सजाय भने जुलाई ११ मा सुनाइनेछ ।
ट्रम्पले भने यो निर्णयलाई लाजमर्दो र धाँधलीपूर्ण भनेका छन् । वर्तमान वा पूर्वराष्ट्रपतिलाई आपराधिक मुद्दामा दोषी ठहराइएको अमेरिकी इतिहासमा यो पहिलोपटक हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको अभियान टोलीले भने ‘कानूनभन्दा माथि कोही नभएको’ भन्दै निर्णय उचित रहेको प्रतिक्रिया दिएको छ ।
ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन् । बाइडेन सत्तारूढ डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार हुन् ।
२०१६ को निर्वाचनको बेला ट्रम्पले वयस्क चलचित्र अभिनेत्री ड्यानियल्स सँगको सम्बन्ध लुकाउन अमेरिकी डलर १ लाख ३० हजार दिएको आरोप लागेको थियो । सो आरोपमाथि न्युयोर्कको ट्रयाल (जिल्ला) अदालतमा ट्रम्पको मुद्दा चलेको थियो ।
दोषी ठहर भए पनि ट्रम्प अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार भने बन्न सक्नेछन् । अमेरिकामा आपराधिक अभिलेख भएका उम्मेदवारलाई चुनाव लड्न नदिने कानुन छैन ।