२९ जेठ २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

उधुम बन्दै गर्मी, ठाउँठाउँमा विद्यालय बन्द

सन्दीपको विश्वकपको ढोका बन्द, गृहमन्त्रीको निर्णयमा समितिको चासो
जेठ १८, २०८१
काठमाडौं
उधुम बन्दै गर्मी, ठाउँठाउँमा विद्यालय बन्द

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न भिसा (प्रवेशाज्ञा) दिन फेरि अस्वीकार गरेको छ ।

सन्दीपलाई बिहीबार अन्तर्वार्ताका लागि बोलाए पनि अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको नेपाल क्रिकेट संघले जनाएको छ । 

निलम्बन फुकुवा भएपछि सन्दीपले अमेरिकाको भिसाका लागि आवेदन दिँदा गत साता पनि दूतावासले उनको आवेदन अस्वीकृत गरिदिएको थियो ।
००००
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल सरकार, अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट पहल हुँदासमेत सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा नदिएको बताएका छन् ।
बिहीबार साँझ विज्ञप्ति जारी गर्दै सन्दीपको भिसाका लागि क्यानले सक्दो प्रयास गरेको स्पष्ट पारेका छन् । यससँगै सन्दीपको विश्वकप खेल्ने ढोका बन्द भएको छ । 
००००
नेपालगञ्जमा बिहीबार अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् गोविन्द झाले साँझ ६ बजे प्राप्त अभिलेखमा नेपालगञ्जको ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी भएको बताए । उनका अनुसार दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम रेकर्ड भएको थियो ।
००००
अत्यधिक गर्मीका कारण मुलुकका विभिन्न स्थानका विद्यालयको पठनपाठन प्रभावित भएको छ । तराईलगायतका विभिन्न स्थानमा बढेको गर्मीका कारण बालकालिकाको स्वास्थ्यमा समस्या उत्पन्न हुने अवस्था भएपछि विद्यालयको पठनपाठन प्रभावित भएको हो ।
००००
मधेस प्रदेश महालेखा परीक्षक कार्यालयको छैटौँ वार्षिक प्रतिवेदनमा  मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड रहेको उल्लेख गरिएको छ ।
 मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयका सहसचिव एवं मधेस प्रदेश प्रमुख श्यामप्रसाद भण्डारीले बुधबार प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारीलाई बुझाएको छैटौँ वार्षिक प्रतिवेदनमा प्रदेशभित्रका तहगत एक सय ३५ सरकारी कार्यालयको लेखा परीक्षणमा रु एक अर्ब ५९ करोड १६ लाख १७ हजार बेरुजु देखिएको हो ।
००००
मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्न तीन दलबीच सहमति भएको छ ।

बिहीबार काठमाडौंमा बसेको बैठकले जनमतसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच यस्तो सहमति गरेको हो । 
००००
सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका १३ को रातानाङ्ला नजिकै टाकुरीमोडमा भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीले बताए ।
००००
मौसम खराबीका कारण देशभरका आन्तरिक हवाई उडान प्रभावित भएका छन् । बिहीबार साँझ काठमाडौं उपत्यकालगायत अधिकांश ठाउँमा चट्याङसहित हावाहुरी चलेपछि आन्तरिक उडानहरू प्रभावित भएका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले तीनवटा उडान प्रभावित भएको बताए ।
००००
अर्थमन्त्री वर्षमान पुनले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएकाले स्वीकार गरेका बताएका छन् । 

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमाथिको छलफल कार्यक्रममा उनले सरोकार भएका सबै क्षेत्रबाट सन्तुलित बजेट आएको भनेर प्रतिक्रिया पाइरहेको बताए ।
००००
सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको  छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप ल्याउने ६ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप ल्याउन लागिएको हो ।
००००
मादक पदार्थ सेवन गरेर सवारी चलाएबापत कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवक बनाउने गृहमन्त्री रवि लामिछानेको निर्णयप्रति संसद्को राज्य व्यवस्था समितिले चासो देखाएको छ ।

गृहमन्त्रीले हचुवाका भरमा गैरकानूनी निर्णय गरेको भन्दै सांसदहरूले चासो दिएका हुन् ।
००००
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको रिटको पेशी बिहीबार पनि स्थगित भएको छ । रवि विरुद्धको मुद्दा आज पनि सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएपछि निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगित गरेका हुन् ।
००००
गृह मन्त्रालयले प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन गरेको छ । 

उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।
००००
स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि भएको हो ।
००००
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र  शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

 जिल्ला प्रहरी कार्यालय धनुषाले भट्टराई र दाहालमाथि छानबिन गर्नुपर्ने भन्दै धनुषा अदालतबाट बिहीबार पक्राउ पुर्जी लिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्