२२ जेठ २०८३, शुक्रबार

काठमाडौं महानगरको श्रम बैङ्कमा ४ हजार बढीको आवेदन

जेठ १८, २०८१
काठमाडौं
काठमाडौं महानगरको श्रम बैङ्कमा ४ हजार बढीको आवेदन

काठमाडौं महानगरपालिकाको श्रम बैङ्कमा चार हजार सात सय ७० जनाको आवेदन परेको छ ।

महानगरले गत भदौमा सीप भएका तर बेरोजगार जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन माग गरेको सूचनाअनुसार आवेदन प्राप्त भएको महानगर श्रम बैङ्कका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले जानकारी दिए । 

ठाकुरका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैङ्क सञ्चालन गर्ने नीति लिएको थियो ।

सोही अनुसार महानगरले आवेदन माग गरेको थियो । 'यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्ने जनशक्तिको सूचीकरण हुनेछ,' उनले भने । 

महानगरले श्रम बैङ्कमा आएकामध्येबाट अहिले छ सय जना छनोट गरी महानगरमा खटाएको छ । आवश्यकता र मागअनुसार अन्यलाई पनि काममा खटाउने तयारी गरिरहेको महानगरले जनाएको छ ।

आवेदन दिनेमध्ये सबैभन्दा धेरै सरसफाइको क्षेत्रमा काम गर्ने जनशपक्ति रहेको महानगरले जनाएको छ । 'बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैङ्कमा श्रमिकलाई आबद्ध गराइएको हो,' उनले भने, 'महानगरले तयार गरेको श्रम बैङ्कमा श्रमिकको नाम हुन्छ । जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार सम्पर्क नम्बर र श्रमिकको ठेगानालगायत विवरण उल्लेख गरिएको हुन्छ ।'

सोही विवरणका आधारमा आवश्यकता पर्ने जो सुकैले श्रमिकलाई काममा लगाउन र उचित पारिश्रमिक दिन सक्नेछन् । चालू आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने छ ।

आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । फाराम आफू बसेको वडामा अथवा महानगरको रोजगार सेवा केन्द्रमा बुझाउनुपर्ने छ । श्रम बैङ्कमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ काठमाडौँमा बसोबास भएको हुनुपर्ने छ । 

यस कार्यक्रमले आवश्यक श्रमशक्तिको उपलब्धता सहज हुनेछ ।

उनका अनुसार यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्