
वर्तमान सहकारी समस्यालाई हल गर्न संस्थागत पुनर्संरचना गर्नुपर्ने वक्ताहरूले सुझाएका छन् । शुक्रवार सहकारी केन्द्र नेपालले ललितपुरमा आयोजना गरेको ‘सहकारी अभियान,सङ्कटका कारण र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले कानुनी तथा नीतिगत अस्पष्टताका कारण सङ्कटग्रस्त भएकोसमेत जिकिर गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)का सचिव लीलामणि पोख्रेलले कार्यपत्र सार्वजनिक गर्दै सहकारी क्षेत्रलाई लयमा ल्याउन संस्थागत पुनर्संरचनाको विकल्प नरहेको बताएका छन् ।
पार्टी सहकारी विभाग इन्चार्जसमेत रहेका पोख्रेलले सहकारी ऐनलाई संशोधन गरी ४७ भन्दा बढी ऐन बनाउन बाँकी रहेको बताउँदै भने,“कानुन फितलो हुनुको परिणाम सहकारीमा खुलेआम लुट मच्चिएको छ, अझ भनौँ कर्मचारीले घुस लिएर सेटिङमा यो क्षेत्र ध्वस्त पारेका छन् ।”
नेकपा एमालेका नेता तथा सहकारी विभाग इन्चार्ज खगराज अधिकारीले पोख्रेलको स्थानीय तहमा रहेका सहकारीहरूमा मात्रै समस्या भन्दा पनि केन्द्रीय सङ्घहरूमै समस्या रहेको बताए । तलदेखि माथिसम्म दाम्पत्यता नमिल्नु पनि समस्याको मुख्य कारण भएको बताउँदै भने,“हाम्रोमा नियम मिच्नेमा केन्द्रीय सहकारी सङ्घ नै अग्र भागमा छन्, त्यति मात्रै हैन सहकारीहरूले एकले अर्कालाई सहयोग हैन, खुट्टा कसरी तान्ने भन्ने प्रवृत्ति हाबी छ ।” गण्डकी प्रदेश पूर्वमुख्यमन्त्रीसमेत रहेका अधिकारीले ऋण लिने अनि नतिर्नेहरूलाई कडा भन्दा कडा दण्ड सजायको व्यवस्था गर्नु पर्ने बताएका छन् ।
सो कार्यक्रममा नेपाली काँग्रेसका नेता देवेन्द्रराज कँडेलले समय अभावको कारण उपस्थिति हुन नसके पनि सहकारी शुद्धीकरण अभियानमा आफू र आफ्नो पार्टीको ऐक्येबद्दता रहेको सन्देश पठाएका थिए ।
राष्ट्रिय सहकारी विकास बोर्ड सह–अध्यक्ष मित्रराज दवाडी,राष्ट्रिय सहकारी महासङ्घ अध्यक्ष ओमदेवी मल्ल,राष्ट्रिय सहकारी महासङ्घ निवर्तमान अध्यक्ष मीनराज कँडेल, नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल केन्द्रीय कृषि सहकारी सङ्घका खेम बहादुर पाठक, नेपाल केन्द्रीय उपभोक्ता सहकारी सङ्घका अध्यक्ष टेकप्रसाद चौलागाई नेपाल केन्द्रीय जडीबुटी सहकारी सङ्घका उपाध्यक्ष अज बहादुर शाही, नेपाल केन्द्रीय पशुपन्छी तथा मत्स्य सहकारी सङ्घका अध्यक्ष बाबुराम अधिकारीले सहकारीको मर्म र महत्वलाई नै समाप्त पार्ने गरी सहकारी क्षेत्रमा विकृति र विसङ्गति हाबी भएको बताएका छन् ।
पोख्रेलको कार्य पत्रमाथि टिप्पणी गर्दै काशीराज दाहाल र ऋषिराज घिमिरेले समाजवादी बाटोमा अगाडि बढ्न र देशलाई सफल बनाउने सहकारी क्षेत्रलाई बचाउन सरकारले उचित कदम चाल्नु पर्ने बताए ।