
विद्युतीय सवारीलाई लक्षित गरी बुटवलको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । इलेक्ट्रोनिक भेइकल (ईभी)को बढ्दो प्रयोगसँगै चार्जिङ सेन्टरको आवश्यकता महशुस गरी फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । संस्थाको बुटवल–८ स्थित कार्यालय परिसरकै फराकिलो जग्गामा स्थापना गरिएको स्टेसन यही महिनाभित्र पूर्णरुपमा सञ्चालनमा आउनेछ ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्यालले १ करोड रुपैयाँको लगानीमा एकैपटक ६ वटा गाडी चार्ज गर्न मिल्ने गरी स्टेसन बनाइएको बताए । ‘स्टेसन आधुनिक सफ्टवेयरमार्फत सञ्चालन हुनेछ,’ उनले भने, ‘चार्ज गरेबापतको रकम भुक्तानीको सुविधासहित सीसीएसटू गाडीका लागि ६० किलोवाटको एउटा सेन्टर र जीबीटी डियुल गन ६० किलोवाटका २ गरी ३ वटा मेसिन जडान भएका छन् । जसमा एकैपटक ६ वटा गाडी चार्ज गर्न मिल्छ ।’
आवश्यताअनुसार चार्जिङ मेसिन थप गर्दै जाने अध्यक्ष अर्यालले बताए । ‘आवश्यताअनुसार चार्जिङ मेसिन थप गर्दै जानेछौं । सहकारी बहुउद्देश्यीय भएकोले धेरै क्षेत्रमा लगानीका अवसर पनि खोज्दै जानेछौं,’ उनले थपे ।
यो चार्जिङ प्रणालीबाट करिब ३० मिनेटदेखि १ घण्टामा गाडी फूलचार्ज हुनेछ । गाडी चार्ज गरेका बेला यात्रु र गाडी धनीलाई समय व्यथित गर्न व्यवस्थित शौचालय, बाथरुम र चमेना गृह पनि बन्नेछ ।
चार्जिङ सेन्टरमा गुल्मी–बुटवल चल्ने ईभीका १३ वटा गाडी चार्ज गर्ने सम्झौता भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणबाट अनुमति लिएर यो कार्य अघि बढेको सहकारीका उपाध्यक्ष माया गौतमले जानकारी दिइन् । प्रतियुनिट १५ रुपैयाँका दरले गाडी चार्ज गर्न पाइने व्यवस्था हुनेछ ।