
खानेपानी अभावका कारण महोत्तरीका गृहिणी रातभरि जाग्राम बस्नुपरेको छ । अत्यधिक गर्मी र सुख्खा मौसमका कारण पानीको सङ्कट चुलिँदै जाँदा यहाँका गृहिणीले पानीको जोहो गर्न रातभरि जाग्राम बस्नुपरेको हो ।
“तीन दिनयता दिनभरि धारामा पानी झरेको छैन, राति झर्छ कि भन्ने आशमा धाराछेउमा पानी पर्खेर रात कटाइयो”, बर्दिबास–२ ॐ शान्तिचोककी गृहिणी फूलमाया मगरले भनिन्, “धन्न, गए राति मध्यराततिर धारामा तुरुरु पानी झरेपछि जाग्राम बसेको प्रतिफल मिल्यो ।” फूलमायाजस्तै उनका छिमेकी पर्मिला ठाकुर, नगिना महतो र वृन्दा भण्डारीले पनि मध्यराततिर बोतल, गाग्री, तसला, बाल्टिनसहितका भाडामा पानी भरेपछि एक दिनलाई ढुक्क भएको बताइन् ।
पानीका मुहान सुक्दै जाँदा यहाँका बस्तीमा पानीको सङ्कट पनि बढ्दै गएको छ । धारामा पानी आउँदैन, आए पनि गाग्री, बाल्टिन वा जार भरिँदैनन् । पानीको सङ्कट गहिरिदैँ जाँदा पूर्वपश्चिम रेल आयोजनाको भब्सीपुल नजिक रहेको बोरिङमा पानी थाप्नेको भीड लाग्ने गरेको छ । बस्ती क्षेत्रबाट पाँच सय मिटर दूरीमा रहेको सो बोरिङमा घाम अस्ताएपछि भने कोही जाँदैनन् । रेल्वेसम्बन्धी निर्माणकार्य प्रयोजनका लागि पानी आपूर्ति गर्न जडान गरिएको बोरिङले अहिले निकैलाई राहत भएको बर्दिबास–१४ लच्काचोकका गौरी साह बताउँछिन् ।
यसैगरी बर्दिबास जलेश्वर सडकखण्डको बर्दिबास–२ लच्काबाट बुद्धचोकसम्म ढल निर्माणको छ । निर्माणकार्यका लागि त्यहाँ ठूलो ट्याङ्कीमा ल्याइने पानीमध्ये बचेखुचेको स्थानीयलाई दिन केही त्राण मिलेको सोही वडाको दर्लामीटोलकी यशोदा तिमल्सिनाले बताइन् ।