म्याग्दी, २ कात्तिक– आफ्ना कुरा व्यक्त नगरीकन कति समयसम्म मानिस मौन बस्न सक्छहोला ? एक दिन, दुई दिन वा बढीमा एक हप्ता ! तर यहाँका एक व्यक्ति १६ वर्ष ६ महिनासम्म मौन व्रत बसी हालै मात्र बोल्न थाल्नुभएको छ ।
सिन्धुली पुख्र्यौली घर भई मुस्ताङको कुञ्जो कागबेनीमा बसोबास गर्दै आउनुभएका बालब्रह्मचारी राम स्वरुपानन्द सरस्वती (मौन गुरु)ले २०५७ मंसिरदेखि २०७४ साल वैशाख २ गतेसम्म मौनव्रत लिएका हुन् । ५२ वर्षीय उनले २०५७ मंसिर ४ गते मुक्तिनाथ मन्दिरमा देशमा शान्ति र आफूलाई आत्मज्ञान प्राप्त नहोउन्जेलसम्म मौन बस्ने संकल्प गरेका र सोही संकल्पअनुसार १६ वर्षसम्म मौनव्रत बसेको जानकारी दिए ।
मौनव्रत अवधिभर आफूले देशका विभिन्न धार्मिकस्थल, सामाजिक तथा मानवीय संघसंस्था र ऐतिहासिक स्थलको भ्रमण गरेको उनको भनाइ छ । मौन अध्ययन भ्रमणबाट जीवन र जगत्लाई बुझ्ने दृष्टिकोणमा परिवर्तन आउनाका साथै संविधान सभाको निर्वाचन सम्पन्न भई देशमा नयाँ संविधान जारी भएपछि शान्ति स्थापना हुने विश्वाससहित १६ वर्षदेखिको मौनव्रत भङ्ग गरेर सामाजिक जीवनमा प्रवेश गरेको मौन गुरुले बताए ।
बेनी बजारमा भेटिनुभएका उनले रासससँग कुरा गर्दै २०७२ सालको महाभूकम्पपछि नेपालीको मनमस्तिष्कमा सेवाभावको विकास भएको र अशक्त, दीनदुःखी र असहायको सेवा गर्दा मिल्ने आनन्द संसारको कुनै धनसँग पनि तुलना हुन नसक्नेमा जोड दिए ।
नेपालमा अव शान्ति स्थापना भइसकेको र समृद्धिको बाटोलाई पच्छ्याउँदै अघि बढ्नुको विकल्प नभएको बताउँदै मौन गुरुले लिखित सन्देशमा भने, ‘आफ्नो लागि पनि सोचौँ अलिकति, त्योभन्दा बढी समाज र देशका लागि सोचौँ, हामीले चाहेको सुख, शान्ति, समृद्धि र विकास हाम्रो सकारात्मक सोच र कर्मठ पाखुरीबाट नै प्राप्त हुन्छ ।’ अबको बाँकी जीवन दुःखी, गरिब र असहायको सेवामा लगाउने प्रतिज्ञा गर्नुभएका मौन गुरुले अरुको सेवा नै जीवनको उच्चतम् उपलब्धि हुने चर्चा गरे ।