
काठमाडौं, ३ कात्तिक — लिबियामा मुअम्मार गद्दाफीले ४० वर्षभन्दा बढी समयसम्म शासन चलाए । सन् २०११ मा अरब क्रान्ति भएपछि चाहिँ गद्दाफी समस्यामा परे ।

त्यही वर्षको २० अक्टोबरमा गद्दाफीको हत्या गरियो ।
गद्दाफीले तानाशाह शासन चलाएको भएपनि आफ्ना देशका जनताका लागि जति गरे, त्यो अन्य कसैले पनि गर्न सक्छन् जस्तो लाग्दैन । उनको शासनकालमा बिजुलीदेखि पढाइसम्म छुट थियो ।
मानिसलाई बस्ने घर पनि सरकारले नै उपलब्ध गराउँथ्यो । क्यानाडाको सेन्टर फर रिसर्च अन ग्लोबलाइजेसनको सन् २०१४ मा निस्केको प्रतिवेदनमा उल्लेख भएबमोजिक हामी यहाँ उनको शासनकालका सकारात्मक उपलब्धिको चर्चा गर्नेछौं ।
लिबियामा जनतालाई घर मानवअधिकारकै श्रेणीमा थियो । सरकारले सबै नागरिकलाई घर उपलब्ध गराउँथ्यो ।
लिबियाका हरेक नागरिकलाई आफ्नै घर उपलब्ध नगराउन्जेलसम्म आफ्ना बुवाआमाका लागि घर नबनाउने कसम गद्दाफीले खाएका थिए । यही कारण गद्दाफी आफ्नो परिवारसहित टेन्टमा बस्थे ।
लिबियामा गद्दाफीले आफैं स्टेट बैंक खोलेका थिए । त्यसमार्फत उनले आफ्ना नागरिकलाई दिइएको लोनमा ब्याज लिँदैनथिए । मानिसहरूले सजिलै कर्जा पाउँथे र ब्याज पनि तिर्नु पर्दैनथियो । लिबियामा तेल बिक्रीबाट आउने रकमको एक भाग नागरिकको बैंक खातामा जान्थ्यो ।
लिबियामा जनताले बिजुलीको बिल तिर्नुपर्दैनथियो । त्यो मानिसको आधारभूत अधिकारमा पर्थ्यो । बिजुलीको सबै खर्च सरकारले उठाउँथ्यो ।
लिबियामा बिहे गर्ने हरेक जोडीलाई गद्दाफीका तर्फबाट ५० लाख रुपैयाँ उपलब्ध हुन्थ्यो । त्यतिमात्र नभई लिबियामा बच्चाहरूको जन्म हुँदा पनि आमा र बच्चालाई लगभग पाँच लाख रुपैयाँ दिइन्थ्यो ।
गद्दाफीले जनतालाई निःशुल्क शिक्षाको व्यवस्था गरेका थिए । त्यतिमात्र नभई घरमा आवश्यक शिक्षा पाइएन भने विद्यार्थीले विदेश जान पाउँथे । विदेशमा पढाइको खर्च सरकारले बेहोर्थ्यो । त्यसका साथै बाहिर बसुन्जेल हरेक महिनाको खर्चका रूपमा डेढ लाख रुपैयाँ र कारको सुविधा दिइन्थ्यो ।
लिबियामा सबै मानिसका लागि स्वास्थ्य सेवा निःशुल्क थियो । सरकारले नै स्वास्थ्य सेवा उपलब्ध गराउँथ्यो । देशबाहिर गएर उपचार गर्नुप–यो भने पनि सरकारले खर्च दिन्थ्यो ।
एजेन्सी