
यही जुन १४ देखि जर्मनीमा शुरू हुन लागेको युरोपको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिताको तयारीमा पोर्चुगललाई धक्का लागेको छ ।
पोर्चुगल गएराति घरेलु मैदानमै भएको मैत्रीपूर्ण खेलमा क्रोएसियासँग २–१ गोल अन्तरले पराजित भएपछि युरोकप तयारीमा धक्का लागेको हो ।
कप्तान लुका मोड्रिचले खेलको आठौँ मिनेटमा पेनाल्टीमा गोल क्रोएसियाका अग्रता दिलाएका थिए ।

तर डिएगो जोटाले ४८ औँ मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए ।
अन्ते बुदिमिरले ५६ गोल गर्दै क्रोएसियालाई फेरि अग्रता दिलाए । त्यसपछि पोर्चुगलले गोल फर्काउन नसकेपछि खेल क्रोएसियाले २–१ ले जितेको हो ।
पोर्चुगल कप्तान क्रिस्टियानो रोनाल्डोबिना नै मैदानमा उत्रिएको थियो । यसअघिको खेलमा भने पोर्चुगलले फिनल्यान्डलाई सजिलै ३–० ले हराएको थियो ।
सन् २०१६ को विजेता पोर्चुगलले अन्तिम तयारीस्वरुप जुन ११ मा रिपब्लिक अफ आयरल्यान्डसँग अर्को खेल खेल्दैछ ।
युरोकपमा पोर्चुगलको समूहमा चेक रिपब्लिक, जर्जिया र टर्की छन् ।