
काठमाडौं ३ असोज– मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलहरु उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । पहिलो चरणमा हुने ३२ जिल्लाका लागि एमालेसंग भागवण्डा मिलाएको माओवादी आफ्ना उम्मेदवार छान्ने गृहकार्यमा जुटेको हो ।
पहिलो चरणमा कात्तिक ५ गते हुने उम्मेदवारी मनोनयनका लागि माओवादीले शुक्रवार नै उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ । अन्य पार्टीमा जस्तो माओवादी केन्द्रमा विबाद देखिएको छैन् ।
माओवादीले शीर्ष नेताहरुले समेत चुनाव लड्ने क्षेत्रको लगभग टुंगो लगाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने पक्का भएको छ । पहिलो संविधानसभा चुनावमा रोल्पा र काठमाडौं १० बाट चुनाव विजयी भएका प्रचण्ड दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० बाट पराजीत र सिराहा २ बाट विजयी भएका थिए ।
माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ यसपटक गोर्खा २ बाट चुनाव लड्ने तयारी गरेका छन् । पहिलो संविधान सभामा मनोनित सभासद बनेका श्रेष्ठ गत संविधानसभा निर्वाचनमा मकवानपुरबाट चुनाव लडेर पराजीत भएका थिए । श्रेष्ठको टक्कर पूर्व माओवादी नेता एवं नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराइसँग हुने निश्चित देखिएको छ । नारायणकाजीका कारण माओवादीले बाबुरामलाई गोरखा छाड्न नसकिने अडान लिएपछि बाबुराम वामपन्थी गठबन्धनबाट बाहिरिएका थिए ।
उपप्रधानमन्त्री कृष्णबहादुर महरा दाङबाट चुनाव लड्ने पक्का भएको छ । यसअघि रोल्पाबाट चुनाव जितेका महरा दाङबाट चुनाव लड्ने भएपछि रोल्पाबाट वर्षमान पुन माओवादीका सर्वसम्मत उम्मेदवार भएका छन् । यसअघि रोल्पाबाट महरा र ओनसरी घर्ती प्रत्यक्ष निर्वाचित भएर आएका थिए । ओनसरी समानुपातिक तर्फको सूचीमा परेकी छिन् ।
रामबहादुर थापा यसपटक काठमाडौं या ललितपुरबाट चुनाव लड्ने तयारीमा छन् । यसअघि चितवन २ बाट विजयी थापाले यसपटक ललितपुर १ बाट चुनाव लड्ने सम्भावना रहेको माओवादी स्रोतले बतायो । दोस्रो संविधान सभाको समयमा मोहन बैद्य नेतृत्वको माओवादीमा चुनाव बहिस्कार अभियानमा थिए । ०६४ सालको चुनावमा बर्षमान पुनले यो क्षेत्रबाट चुनाव जितेका थिए । भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा पनि माओवादीले यो क्षेत्रमा राम्रै मत पाएको थियो ।
माओवादी प्रवक्ता पम्फा भुसाल ललितपुर २ बाट चुनाव लड्ने तयारी गरेकी छिन् । अन्य महिला नेत्रीहरु समानुपातिक तर्फबाट सीट सुरक्षित गर्न लागेपनि उनले प्रत्यक्षमै चुनाव लड्ने हिम्मत गरेकी छिन् । पहिलो संविधानसभा चुनावमा उनले ललितपुर ३ बाट चुनाव जितेकी थिइन । एमालेसंग ४० प्रतिसत दावी गरेको माओवादीले उपत्यकामा १५ मध्ये ५ क्षेत्र पाउने सम्भावना छ । माओवादीले ललितपुरमा २ वटा क्षेत्रमा दावी गरेको छ ।
निवर्तमान गृहमन्त्री जनार्दन शर्मा भने गृहजिल्ला रुकुमबाट चुनाव लड्ने तयारी गरेका छन् । पूर्वी या पश्चिम रुकुम बताबाट चुनाव लड्ने टुंगो भने लागिनसकेको माओवादीका एक नेताले बताए । उनी दुइै संविधानभा चुनावमा रुकुमबाट चुनाव लडेका थिए ।
टोपबहादुर रायमाझी भने अर्घाखाँचीबाटै चुनाव लड्ने पक्का भएको छ । उनीपनि दुवै संविधानसभा चुनावमा अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
माओवादीका पूर्व सचिव देव गुरुङ कास्कीबाट चुनाव लड्ने तयारीमा छन् । पहिलो संविधानसभा चुनावमा मनाङ र कास्की ३ बाट चुनाव लडेका गुरुङ दुवै ठाउमा विजयी भएका थिए । दोस्रो संविधानसभा चुनावमा भने उनी बैद्य माओवादीमा थिए ।
एमालेबाट माओवादी, माओवादीबाट नयाँ शक्ति हुँदै पुनः माओवादीमा फर्केका रामचन्द्र झा धनुषाबाट चुनाव लड्ने तयारीमा छन् । प्रभू साह भने गृहजिल्ला रौतहटबाटै चुनाव लड्ने तयारीमा छन् ।
अग्नी सापकोटा सिन्धुपाल्चोक १ बाट चुनाव लड्ने तयारीमा छन् । पूर्वगृहमन्त्री शक्ति बस्नेत जाजरकोटबाट चुनाव लड्ने तयारीमा छन् । हितराज पाण्डे गोरखा १ बाट चुनाव लड्ने तयारी गर्दैछन् ।
संविधानसभाका दुईवटै चुनावमा प्रत्यक्ष निर्वाचित निवर्तमान स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल महोत्तरी १ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् । मणि थापा प्युठानबाट चुनाव लड्ने तयारीमा छन् ।
वामगठबन्धनले नेकपा मशालका महामन्त्री मोहनविक्रम सिंहले चुनाव लड्न चाहेमा प्यूठानमा छाड्ने बताएको छ । मोहनविक्रम उम्मेदवार नभएमा थापाले प्युठानबाट टिकट पाउने सम्भावना छ ।