
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार लगातार तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिँदैछन् ।
शपथ ग्रहण समारोहअघि एनडीए प्रमुखको रूपमा मोदीले मन्त्रिपरिषद् सदस्यहरूको सूची राष्ट्रपति द्रौपदी मुर्मुलाई हस्तान्तरण गर्नेछन् ।
मन्त्रीको सूचीमा कसको नाम आउने र कसले स्थान नपाउने भन्नेमा धेरै अड्कलबाजी भइरहेको छ ।
सञ्चारमाध्यममा सत्ता घटक दलका नेताहरूको नाम आइरहेका बेला राजनीतिक विश्लेषणहरूले गठबन्धन सरकारको आवश्यकता र बाध्यतालाई मध्यनजर गर्दै फरक–फरक नाम प्रस्तुत गरिरहेका छन् ।
सत्ता गठबन्धनमा साझेदार दल र तिनका सहयोगी दललाई दिइएको महत्वका कारण मन्त्रिपरिषद्मा समावेश हुने मन्त्रीहरूको नाममा समेत अड्कलबाजी भइरहेको छ ।
मन्त्रिपरिषदमा एनडीए घटकका सहयोगीहरूले मात्र स्थान नपाउने तर बीजेपीका नयाँ अनुहारहरू पनि देख्न सकिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भर्खरै सम्पन्न आमचुनावमा अघिल्लो मन्त्रिमण्डलमा समावेश २० मन्त्रीले चुनाव हारेका थिए ।
एनडीए घटकहरूले कति मन्त्री पद पाउनेछन् ?
भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार तेलुगु देशम पार्टी(टीडीपी)का १६ सांसद निर्वाचित भएका छन् । पार्टीले दुई मन्त्री पद पाउन सक्छ । पवन कल्याणको जनसेना (दुई सांसद) ले पनि मन्त्री पद पाउन सक्छ ।
श्रीकाकुलमबाट जितेका सांसद के. राममोहन नायडू, गुन्टूरका सांसद चन्द्रशेखर पेम्मासानी र चित्तूरका सांसद डी. प्रसाद राव चर्चामा छन् ।
नितिश कुमारको जनता दल युनाइटेड (जेडीयु)का तीन सांसदले पनि मन्त्रीमण्डलमा स्थान पाउने बताइएको छ । चिराग पासवानको पार्टी लोक जनशक्ति (रामविलास) ले पनि एक मन्त्री पद पाउन सक्छ ।
एनडीटीभीका अनुसार जेडीयूका पूर्व अध्यक्ष राजीव रञ्जन सिंह 'लल्लन' र बिहारका मुख्यमन्त्री नितिश कुमारका विश्वासपात्र सञ्जय झालाई क्याबिनेट पदका लागि सिफारिस गरिएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार कर्नाटकका पूर्व मुख्यमन्त्री एचडी कुमारस्वामीलाई पनि मन्त्री बनाउने विषयमा छलफल चलिरहेको छ ।
संवैधानिक दलहरूलाई प्रत्येक पाँच सिटमा एक मन्त्री पद दिइनेछ। तर, कुमारस्वामीको जनता दल (धर्मनिरपेक्ष) ले दुई सिट मात्रै पाएको छ र राज्यमन्त्री पद पाउन सक्छ।
हिन्दुस्तानी अवाम मोर्चाका जीतनराम मांझी, आरएलडीका जयन्त चौधरी र अपना दलकी अनुप्रिया पटेलले पनि मन्त्री पद पाउने अपेक्षा गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
चुनावअघि जयन्त चौधरीको पार्टी एनडीएमा प्रवेश गरेको थियो । पार्टीले यूपीमा दुई सिटमा चुनाव लडेको र दुवै ठाउँमा जित हासिल गरेको छ ।
महाराष्ट्रमा कति प्रतिनिधित्व छ?
इन्डियन एक्सप्रेसका अनुसार मन्त्रिपरिषद्मा महाराष्ट्रलाई पनि प्रतिनिधित्व गर्ने विषयमा छलफल भएको छ, त्यसको कारणहो यही वर्ष त्यहाँ पनि विधानसभाको चुनाव हुँदैछ ।
भाजपाको गठबन्धनले महाराष्ट्रमा राम्रो प्रदर्शन गर्न सकेको छैन । शिव सेना (शिन्दे)ले सात र एनसीपी (अजित पवार)ले एउटा मात्र सिट पाएका छन् । भाजपाले मात्र १२ सिट जित्न सफल भएको छ ।
जहाँसम्म भाजपाको सवाल छ, पूर्व मुख्यमन्त्रीहरू शिवराज सिंह चौहान, मनोहर लाल खट्टर, विप्लव कुमार देव र बसवराज बोम्मईले मन्त्री पद पाउन सक्छन् ।
राजनाथ सिंह, नितिन गडकरी, जेपी नड्डा र अश्विनी वैष्णवलाई मन्त्री बनाउनेबारे छलफल भएपनि टुंगो लागिनसकेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
भर्खरै सम्पन्न लोकसभाको चुनावमा भाजपाले २ सय ४० सीट प्राप्त गरेको छ जुन बहुमतभन्दा भन्दा ३२ सीट कम हो । भाजपाले २०१९ को चुनावमा ३०३ सिट जितेको थियो । भाजपा र एनडीएका सहयोगीहरूले अहिले २९३ सिट जितेका छन् ।
कांग्रेसको नेतृत्वमा चुनाव लडेको इन्डिया गठबन्धनले यस पटक राम्रो प्रदर्शन गर्दै २३३ सिट जित्न सफल भयो ।
गत निर्वाचनमा कांग्रेसले ५२ सिट पाएको थियो तर यसपटक ९९ सिट जितेको छ । इन्डिया गठबन्धनका अन्य दलहरूमध्ये समाजवादी पार्टीले ३७, टीएमसी २९, डीएमके २२, शिव सेना यूबीटी ९, आम आदमी पार्टीले तीन र झारखण्ड मुक्ति मोर्चाले तीन सिट जितेका छन् ।