
राष्ट्रिय वाणिज्य बैंक जुम्ला शाखाका प्रबन्धक रामजनक चौधरीसहित ४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालत काठमाडौंका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेज नारायणसिंह राई र रामबहादुर थापाको इजलासले आइतबार फैसला सुनाउँदै चौधरीसहित चार जनालाई दोषी ठहर गरेको हो ।
फर्जी अग्रिम भुक्तानी जमानी पत्रको नवीकरणमा हस्ताक्षर गरेर १९ लाख ३५ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा चौधरीविरुद्ध विशेषले भ्रष्टाचार निवारण ऐनको दफा ९ बमोजिमको कसुरमा १० महिना कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।
त्यस्तै विशेषले विटी निर्माण सेवाका तत्कालीन निर्देशक माधवप्रसाद भण्डारी, फक्स निर्माण सेवा र सोको प्रोपाइटर अर्जुन बुढाथोकी सँगै तौदह कन्स्ट्रक्सन र ठेक्का नम्बर – ०३– ०७०/०७१ को जेभीका आधिकारिक प्रतिनिधि पुन्नबहादुर शाहीलाई समेत दोषी ठहर गरेको छ ।
उनीहरूले २०७० पुस २८ मा १९ लाख ३५ हजारको फर्जी अग्रिम भुक्तानी जमानीपत्र तयार गरि सोबापत उतीनै रकम पेस्की लिएर मतियारको रुपमा काम गरेको फैसलामा उल्लेख छ।
विशेषले मतियारको रुपमा जनही २० हजार जरिवानासँगै भण्डारी, बुढाथोकी र शाहीविरुद्ध पाँच महिना कैद सजायको फैसला सुनाएको छ ।