टी–२० विश्वकपमा भारतले दिएको निकै झिनो लक्ष्य पनि पार गर्न नसकेपछि पाकिस्तानमा उसको राष्ट्रिय क्रिकेट टोलीको चर्को आलोचना भइरहेको छ ।
पाकिस्तानी टोलीको हारबाट फ्यानहरू निकै निराश छन् । सामाजिक सञ्जालमा खेलाडीको चर्को आलोचना भइरहेको छ ।
हारपछि पाकिस्तानका पूर्व क्रिकेटरहरूले समेत सामाजिक सञ्जालबाटै आक्रोश र दु:ख व्यक्त गरेका छन् ।
न्युयोर्कको नासाउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा आइतबार भएको रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको थियो ।
वर्षाले प्रभावित खेलमा भारत १९ ओभरमा ११९ रनमा अलआउट भएको थियो । पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो ।
पिच केही अप्ठ्यारो भए पनि टी-ट्वान्टीमा यो निकै झिनो लक्ष्य हो । यो हारसँगै पाकिस्तानको सुपर ८ मा पुग्ने सम्भावना क्षीण बनेको छ ।
भारत र सह–आयोजक अमेरिकाले २-२ खेल जितिसकेका छन् ।
पाकिस्तानका पूर्व फास्ट बलर शोएब अख्तरले आफ्नो युट्युब च्यानलमा भनेका छन्, ‘पाकिस्तानी टोलीले खेलमा आफ्नो दिमाग प्रयोग गरेन। यो साँच्चै दु:खद् छ ।'
४६ बलमा ४६ रन बनाउनु परेको थियो जसमा ७ ब्याट्सम्यान थिए । तर, पाकिस्तान असफल भयो ।
पूर्व ब्याट्सम्यान इन्जमाम उल हकले भने सन्तुलित प्रतिक्रिया दिएका छन् ।
‘पाकिस्तानी टीमले राम्रो खेल्यो, तर भारतीय टीमले अझ राम्रो खेल्यो,' उनले आफ्नो युट्युब च्यानल ‘म्याच विनर’ मा भनेका छन् ।
उनले थपेका छन्, 'पाकिस्तानले ब्याटिङ गर्दा औसत ७ रनभन्दा माथि जान दिनु हुँदैनथ्यो । तर, भारतले दबाब दिन थाल्यो र स्थिति कता पुग्यो भन्ने कुरा पाकिस्तानले बुझ्न सकेन। पाकिस्तानको हातमा विकेट थियो, तर उसले कतै मौका लिन सकेन।'
अर्का पूर्व क्रिकेटर शाहिद अफ्रिदीले पनि पाकिस्तानको हारप्रति दु:ख व्यक्त गरेका छन् ।
'मसँग शब्द छैन, म केवल पश्चाताप व्यक्त गर्न सक्छु,' अफ्रिदीले भनेका छन् ।
५ टीमको समूहमा पाकिस्तानले अब क्यानडा र आयरल्यान्डसँग खेल्न बाँकी छ ।
दुवै खेल जितेमा पनि उसलाई सुपर ८ मा पुग्न पर्याप्त हुँदैन । त्यसका लागि भारत वा अमेरिकाले बाँकी दुवै खेल हार्नुपर्ने हुन्छ । साथै, रन रेट पनि 'मेन्टेन' गर्नुपर्ने देखिन्छ ।